२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पत्रकारहरु विधेयकको विरुद्धमा आन्दोलनमा उत्रदै


२३८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ जेष्ठ २९, बुधबार मा प्रकाशित ५ साल अघि
  • नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको बैठकले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै गरिएको दुई चरणको आन्दोलनको सुनुवाई नगरेकोले तेस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरेको छ ।

    बैशाख २९ देखि जेठ २५ गतेसम्म दुई चरणमा गरिएको आन्दोलन पूर्णंरुपमा सफल भएको निष्कर्ष महासंघले निकालेको छ । आन्दोलनमा आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघ–संगठन, सञ्चारमाध्यम, विभिन्न पेशाकर्मीहरु, राजनीतिक दल, नागरिक समाज, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरु र आम जनताको सहयोग र सहभागितासमेत प्राप्त भएको छ । महासंघले मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरु अविलम्ब फिर्ता लिन सरकारसंग पुनःजोडदार माग गरेको छ ।

    नेपाली प्रेस जगतका जायज मागहरु अघि सारेर आन्दोलित नेपाल पत्रकार महासंघ र समग्र सञ्चार क्षेत्रप्रति सरकारले उपेक्षा गरेकोमा बैठकले दुःख प्रकट गरेको छ । विशुद्ध पेशागत स्वतन्त्रताको माग राखेर गरिएको आन्दोलनलाई सरकारले राजनीतिक रङ दिनु र विदेशी दातृ संस्थासंग जोडेर लाञ्छित गर्नु आपत्तिजनक छ । विगत ६ दशकदेखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि संघर्षरत् महासंघ कुनै पनि पक्षको अभिष्ट पूरा गर्ने आन्दोलनको पक्षमा नभएको र संविधानले सुनिस्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढ रहेको स्पष्ट पार्न चाहन्छ । साथै, महासंघ आफैंमा पारदर्शी र स्वयंसेवी संस्था भएको स्मरण गराउन चाहान्छौं ।

    मिडिया काउन्सिल विधेयकमा राखिएका प्रावधानले सञ्चार क्षेत्रको नियमन गर्ने नभई नियन्त्रण गर्ने प्रष्ट छ । मिडिया काउन्सिल विधेयक नेपालको संविधानले ग्यारेन्टी गरेको प्रेस स्वतन्त्रता र यसको विश्वव्यापी मान्यताविपरित हुनेगरी ल्याइएकोले फिर्ता लिई सरोकारवालाहरुस“ग छलफल गरी समस्याको समाधान गर्नुको विकल्प नरहेको महासंघको ठहर छ । प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता नभएसम्म थप शसक्त आन्दोलन जारी राख्ने निर्णय महासंघले गरेको छ ।

    तेस्रो चरणको आन्दोलनमा सक्रिय सहभागिता जनाउन महासंघ आमसञ्चारकर्मी, सञ्चार सम्बद्ध संघ–संगठन, पेशाकर्मी, नागरिक समाज र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुमा हार्दिक आहृवान गर्दछ । साथै, पहिलो र दोस्रो चरणको आन्दोलन सफल बनाउन सक्रिय सहभागिता जनाउने सबैमा महासंघ हार्दिक आभार प्रकट गर्दछ ।

    यस्तो छ तेश्रो चरणको आन्दोलनका कार्यक्रम

    क) असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशब्यापी हस्ताक्षर संकलन अभियान ।
    ख) असार ६ गते संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने ।
    ग) असार १० गते मिडिया काउन्सिल विधयक विरुद्ध कार्टुन प्रर्दशनी ।
    घ) असार १५ गते सबै जिल्ला शाखाहरुले आफ्नो क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसदहरुलाई SMS मार्फत् सन्देश पठाएर ध्यानाकर्षण गर्ने ।
    ङ) असार २० गते बृहत् ‘प्रेस स्वतन्त्रतासभा’को आयोजना गर्ने ।
    च) असार २५ गते मध्यान्ह १२ः०० बजे लालटिन जुलुस ।
    छ) असार ३० गते देशव्यापी सिटी जुलुस र सभा ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार