२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रहरीले इन्काउन्टरमा मारेका होईनन्- पौडेल परिवार


२४३४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ अषाढ २७, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौं– दोहोरो भीडन्तमा मारिएका भनिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारले पौडेललाई नियोजित रुपमा नियन्त्रणमा लिएर हत्या गरिएकोे दाबी गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिवारले पौडेलको उमा षड्यन्त्रपूर्वक हत्या गरिएको दाबी गरेको हो । यही असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही खोलाको छेउमा षड्यन्त्रपूर्वक हत्या भएको परिवारको दाबी छ ।

     

    घट्नाको बारेमा बोल्दै मृत्तक पौडेलका भाई हरिकृष्ण पौडेलले प्रहरीसँग मुठभेड नभई निर्देशनको आडमा प्रहरीले नियन्त्रणमा लिएर हाँतखुट्टा भाँचेर, दाँत झारेर गोली हानेको आरोप लगाए । उनले आफ्ना दाईको राजनीतिक जीवनको बारेमा स्वयम् सरकारमा रहेकाहरु पनि जानकार रहेको बताउँदै झुटा आरोप लगाएर ठाडो निर्देशनमा मारिएको बताए । ‘यदि त्यो नियोजित हत्या थिएन भने बारादेखि धनुषासम्मको प्रहरी त्यहाँ कसरी पहिल्यै आइपुग्यो ।’–उनले प्रश्न गरे ।

    सादा पोशाकमा रहेका प्रहरीले दाजुको हत्या गरेको जनाउँदै उनले चार ठाँउमा भाँच्चिएको हात नजिकै हतियार राखेको फोटोहरु आफुसंग प्रमाणको रुपमा सुरक्षित रहेको स्पष्ट पारे । ‘हात भाँच्चिएको मानिसको त्यति नजिकै कसरी हतियार रहनसक्छ ?’ उनको आक्रोश छ । त्यस्तै, उनले सरकारले घट्नाको बारेमा सत्य, तथ्य बाहिर ल्याउनको लागि स्वतन्त्र छानविन समिति गठन गर्न पनि आनाकानी गरेको गुनासो पोखे ।

    केही समाचारमा दाईको बाग्मती नगरपालिकाका मेयर भरतकुमार थापासँग चन्दा मागेका विषयमा वास्तविक कुरा नै नबुझेर गलत तरिकाले समाचार सम्प्रेषण गरिएको भन्दै उनले दुःखेसो पोखे ।  उनले सागरनाथ वन विकास परियोजनाअन्तर्गत रहेको सुकुम्बासीको बिषयलाई उठाएका कारण दाइको हत्या भएको आरोप लगाए । सरकारले थापासँग चन्दा मागेको भन्ने गलत आरोप लगाएको उनको दाबी छ । उनले भने, ‘हामीमाथि झुठो आरोप लगाइयो, ठूलो पीडामा छ । स्वतन्त्र न्यायिक समिति बनाएर हामीलाई न्याय दिनुपर्छ ।’

    परियोजनाको जग्गाामा रहेका सुकम्बासी व्यवस्थित् गर्न परियोजनासँग भएको पाँच बुँदे सहमति कार्यान्वयन गराउन खोज्दा उल्टै परियोजनाले ७५ करोडको मुद्दा हालेको पनि उनको भनाई छ । सो मुद्दालाई अख्तियारले हेर्दे आएको र छानविन गरेर राजनीति तथा सुकम्बासीको हकहितमा बोलेको भन्दै अहिलेसम्म पनि नबोलाएको पनि उनले जनाए । ‘मुद्दा तामिलिमा छ, अहिलेसम्म कुनै टुँगो लागेकोे छैन ।’–उनले जनाए ।

    परियोजनासँग भएको पाँच बुदे सहमति कार्यान्वयनको लागि आवाज उठाउँदा चन्दा आरोप लगाएर सरकारी मान्छेलेनै आफ्ना दाजुलाई मारेकोे उनको आरोप छ । त्यस्तै कार्यक्रममा बोल्दै मृतक पौडेलकी श्रीमती कला पौडेलले पनि आफ्ना श्रीमान्लाई षड्यन्त्रपूर्वक मारेको दाबी गरिन् । छानविन समितिले स्वतन्त्र रुपमा छानबिन गरेर आफ्नो श्रीमानको हत्यारालाई कानुनी दायरामा ल्याउनुपर्ने उनको माग छ ।

    श्रीमानलाई कुनै दबाव वा असूरक्षाको बारेमा कुनै जानकारी नभएको बताउँदै उनले भनिन्,‘श्रीमानले पनि कुनै त्यस्तो अप्ठ्यारो छ भन्ने कुरा कहिल्यै गर्नुभएको थिएन ।’ दोषीलाई कानुनी कारवाही गर्नुपर्ने अनिमात्रै आफूहरुले न्याय पाउने उनको भनाई छ ।

    त्यस्तै, मृतकका भतिजा राजकुमार पौडेलले आफ्ना काका दोषी भएको भए कसरी हजारौं मानिषहरुले उनको अन्तिम संस्कारमा सहभागिता जनाए ? भन्दै रचना गरिएको षड्यन्त्रको पर्दाफास गर्न आग्रह गरे ।
    हत्यामा संलग्न दोषीलाई कारवाहीको माग गर्दै उनले विप्लवको सिद्वान्त बोकेकोलाई हतियार बोकेको आरोपमा मारिएको सुनाए । ‘झोलामा बन्दुक बोकेको थियो भनेर सरकारले भनिरहेको छ । भाँच्चिएको हात नजिकै हतियार कसले राखेको हो ? यहाँ ठुलो षड्यन्त्र भएको छ । घट्नाको बारेमा वास्तविक छानविन हुनुपर्छ ।’ –उनले भने ।

    त्यस्तै, मृत्तक पौडेलकी दिदी लक्ष्मी पौडेलले यातना दिएर आफ्नो भाईको हत्या गराएको दाबी गरिन् । उनले आफुहरुलाई कुनै जानकारी नै नदिई प्रहरीले पोष्टमार्टम गराएको पनि सुनाइन् ।  उनले प्रश्न गरिन्,‘पोष्टमार्टम गर्नु अगाडी प्रहरी प्रशासनले हामीलाई जानकारी गराएन ? म सरकारलाई सोध्न चाहन्छु ।’ आफुहरुलाई शव कुहिएको अवस्थामा दिइएको जनाउदै उनले अहिले सम्मपनि पोष्टमार्टम रिपोर्ट सार्वजनिक नगरिएकोमा आपत्ति जनाईन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार