२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

लोकसेवा आयोगको परिक्षा कडाई


२३७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ४, शनिबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहका लागि खोलेको विज्ञापनको परीक्षा  देशभर सुुरु हुँदै छ । काठमाडौं उपत्यकासहित सबै परीक्षा केन्द्रहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    परीक्षार्थीहरुलाई झोला र मोबाइलसमेत परीक्षा केन्द्रको गेटभन्दा भित्र लैजान निषेध गरिएको छ । यसअघि परीक्षार्थीहरुलाई परीक्षा हलभित्रै झोला र मोबाइल लैजान दिइन्थ्यो । तर, ती झोला र मोबाइल निरीक्षकले तोकिदिएको स्थानमा राखेर मात्र परीक्षामा बस्न पाइन्थ्यो ।

    तर, परीक्षामा भने गेटबाट पनि भित्र लैजान निषेध गरिएको छ । लोक सेवा आयोगले सूचना जारी गर्दै भनेको छ, ‘परीक्षालाई मर्यादित बनाउन परीक्षामा सामेल हुने परीक्षार्थीहरुले परीक्षा हलमा झोला, मोबाइल तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरु लैजान निषेध गरिएको छ । त्यस्ता सामाग्रीहरु परीक्षा केन्द्रको गेटबाट भित्र लैजान नदिइने व्यहोरा सूचित गरिन्छ ।’

    सरकारको आग्रहमा लोक सेवा आयोगले स्थानीय तहका लागि ९ हजार १६१ सिटका लागि विज्ञापन खोलेको छ । ती पदका लागि ४ लाख ४१ हजार १४१ दरखास्त परेको छ । आदिवासी जनजातीको कोटामा ४३ हजार ३२०, मधेसी कोटामा २४ हजार ९०, दलितमा ३ हजार ९१, पिछडिएको क्षेत्रमा ११६, अपांगमा १४६ र महिला कोटामा १ लाख ३ हजार ५ सय ६७ दरखास्त परेका लोक सेवाले जनाएको छ ।

    तर, यो विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजाती महासंघले आन्दोलन गर्दै आएको छ ।  आयोगको केन्द्रीय कार्यालय अनामनगर अगाडि प्रदर्शन गरेको महासंघले शुक्रबार साँझ सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगको अध्यक्ष उमेशप्रसाद मैनालीको पुत्ला जलाउने कार्यक्रम राखेको छ । काठमाडौंमा साँझ ५ बजेपछि असन क्षेत्रमा पुत्ला जलाउने कार्यक्रम तय गरिएको महासंघले जनाएको छ ।

    लोक सेवा आयोगको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा समेत मुद्दा परेको थियो । तर, सर्वोच्चले विज्ञापन रोक्न नपर्ने अन्तरिम आदेश दिएपछि परीक्षा लिन लागिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार