२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

रोटरी क्लब अफ पनौतीको चौंथो पदस्थापन, पनौतीमा स्तरिय अस्पतालको निम्ति पहल हुँदै


३०७२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण १२, आईतबार मा प्रकाशित ४ साल अघि
  • पनौती ।रोटरी क्लब अफ (आरसी) पनौतीको वर्ष २०१९–२० का अध्यक्षलगायत पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । आरसी पनौती स्थापना भएपछिको यो चौंथो पदस्थापन कार्यक्रम हो ।

    रोटरी डिष्ट्रिक्ट–३२९२ का डिष्ट्रिक्ट गभर्नर(इलेक्ट) रोटरियन राजीव पोखरेलको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष सुजित कर्माचार्यले वर्ष २०१९–२० का अध्यक्ष डा. प्रकाश कुइँकेललाई पदभार हस्तान्तरण गरेका हुन् । यस्तै, रोटरीको बिधान अनुसार डिजिई पोखरेलले कुइँकेललाई शपथ गराए भने पदाधिकारीहरुलाई कुइँकेलले शपथ गराएका थिए ।

    स्मरण रहोस, रोटरी क्लब इन्टरनेसनलको नीति अनुसार प्रत्येक वर्ष जुलाई १ तारिखबाट अर्को वर्षको जुन ३० सम्मको अवधिलाई एक रोटरी वर्ष मानिने प्रचलन अनुसार रोटरीको मुख्यालयदेखि क्लब तहसम्म यसै गरी पदस्थापन हुँदै आएको सो अवसरमा आरसी पनौतीका अध्यक्ष(नोमिनी) इन्जिनियर सितु सैंजुले जानकारी गराए । कार्यक्रममा आरसी पनौतीका अध्यक्ष(इलेक्ट) डा. अनुपजंग थापाले छोटै अवधिमा आरसी पनौतीले सम्पन्न गरेका कार्यक्रमहरुले समुदायको मन जित्न सफल भएको उदाहरण दिए ।

    विशिष्ट अतिथि तथा आरसी पनौतीको मानार्थ सदस्य एवं पनौतीका मेयर भीम न्यौपानेले पनौतीमा स्तरिय अस्पतालको आवश्यकता वर्षौंदेखि महसुस भएकाले यसमा संयोजनको भूमिका गरिदिनका लागि रोटरी पनौती र आवश्यक सहयोगका लागि रोटरी डिष्ट्रिक्टलाई अनुरोध गरे, ‘पनौती रोटरीका सदस्यहरुमा डाक्टर र नर्सहरुको बाहुल्य भएकाले यसमा अग्रसरता र नेतृत्व पनौतीकै डाक्टरहरुले लिनु पर्छ । तबमात्र अस्पताल बन्न सम्भव हुन्छ’, उनले सुझाए ।

    अर्का विशिष्ट अतिथि एवं प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईंले पनि पनौतीमा स्थापना हुने अस्पतालका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग जुटाइदिने वचनबद्धता व्यक्त गरे, ‘प्रदेश सरकारबाहेक संघीय सरकारसम्म पनि अस्पतालका लागि खट्ने छु । नगरपालिकाको संरक्षकत्वमा रोटरीसहित पनौतीमा रहेका अन्य सामाजिक संघसंस्थाहरुको एउटा सञ्जाल बनाउनुहोस । अब अस्पताल बनाउने कुरामा ढिलाई गर्नुहुन्न’, उनले भने ।

    कार्यक्रममा प्रमुख अतिथि पोखरेलले स्थापनाको छोटो अवधिमा रोटरी इन्टरनेसनल र डिष्ट्रिक्टको बिधानअनुसार तोकिएका ७ वटा विषयक्षेत्रहरुमा उल्लेख्य काम गर्दै आएकोमा प्रसन्नता व्यक्त गरे । आरसी पनौतीका लागि निरुपति असिस्टेन्ट गभर्नर राजेन्द्र तण्डुकारले वर्ष २०१९–२० का डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले लिएका अभियानहरुमा हातेमालो गर्न आग्रह गर्दै आरसी पनौतीको रणनीति, कार्ययोजनाका साथै गतिविधिहरुबाट धेरै प्रभावित भएको उल्लेख गरे ।

    पदभार ग्रहण गर्दै अध्यक्ष डा. कुइँकेलले आफ्नो कार्यकालमा आरसी पनौतीको रणनीति एवं आरई र डिष्ट्रिक्टको बिधानअनुसारका कार्यहरु गर्दै जाने प्रतिबद्धता जनाए । नगरपालिकाको संरक्षकत्वमा आरसी पनौतीले अन्य संघसंस्थाको सहकार्यमा अस्पतालको कामलाई अघि बढाइने पनि उनको भनाई छ ।

    सोही अवसरमा व्यवसायीबाट यतिराज अधिकारी, नर्सिङक्षेत्रबाट मनिषा श्रेष्ठ र न्यूट्रिसनिष्ट अञ्जिता खड्कालाई डिजिई पोखरेलले रोटरी पिनसहित आरसी पनौतीको सदस्यता प्रदान गरेका छन् । कार्यक्रम रोटरी क्लब अफ पनौती, इन्टरी क्लब सिद्धार्थ वनस्थली, रोटरी बनेपा लगायत अन्य स्थानका रोटरी क्लबका अध्यक्ष तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । डा. सुमनराज ताम्राकारको संस्थापक अध्यक्षतामा सन् २०१६ मार्च १७ तारिखमा रोटरी पनौतीको स्थापना भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार