२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुन चाल्ने रोजगारीको लागि पालिकाको बजेट


३५८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण २६, आईतबार मा प्रकाशित ४ साल अघि
  • रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बन्ने योजनाका लागि अनौठो प्रस्ताव अघि सारेको छ । सो प्रस्ताव गाउँपरिषद्बाट पारितसमेत भई यसै वर्षदेखि कार्यान्वयन हुने भएको छ ।

    जिल्लाको सुनिल स्मृति गाउँपालिकाले सुन चालेर युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ । उक्त योजना कार्यान्वयनका लागि चालू आर्थिक वर्षमा दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले बताए ।

    गाउँपालिका भएर बग्ने लुङ्ग्री नदीमा विगतदेखि सुन खोज्ने परम्परा रहँदै आएको थियो । सुनछहरी झरना रहेको स्थानमा सुनखानी रहेकाले सो झरना लुङ्ग्री नदीमा मिसिने भएका कारण स्थानीयवासीले लामो समयदेखि सुन चाल्ने काम गर्दै आएका थिए । बालुवामा सुनका कणहरुसमेत भेटिने गरेकाले त्यहाँ आश्रित युवायुवतीलाई गाउँपालिकाको तर्फबाट स्वरोजगार बनाउन यस्तो योजना अघि सारेको गाउँपालिकाले बताएको छ ।
    सो नदीआसपासको क्षेत्र मगर बाहुल्य क्षेत्र भएकाले उक्त नदीलाई पछि लुङरी भन्न थालिएको बताइन्छ । मगर भाषामा लुङ भनेको ढुङ्गा र री भनेको पानी अर्थात् ढुङ्गाबाट पानी बग्ने भएकाले लुङरी भनिएको मगर भाषाका जानकारहरु बताउँछन् ।

    नेपाल सरकारको अनुमति लिएर चीनको एक कम्पनीले गरेको अनुसन्धानका क्रममा समेत सो झरनामा सुनखानी रहेको प्रतिवेदन बुझाएको स्थानीयवासीले जानकारी दिए ।

    सुनछहरी गाउँपालिका र सुनिल स्मृति गाउँपालिका भएर उक्त नदी बग्ने गर्दछ । ती दुई गाउँपालिकाको हार्जङ, स्युरी, जैमाकसला, फगाम र मिझिङका स्थानीयवासीले लामो समयदेखि सुन चाल्दै आएका छन् । त्यसरी सुन चाल्ने पेशा अँगाल्दै आएकाहरुलाई सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले यस वर्ष सुन चालेर स्वरोजगार बन्ने योजना अघि सारेको सुनिल स्मृति गाउँपालिका–४ का वडाध्यक्ष गङ्ज क्षेत्रीले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार