२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

रासायनिक मलको हाहाकार चितवनमा पनि


१८५६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र ३१, मंगलबार मा प्रकाशित ४ साल अघि
  •  चितवन । भरतपुरको दुरसञ्चार रोडमा आइतबार बिहानैदेखि ठूलो भीडभाड लाग्यो । तीन सयभन्दा बढी मानिसहरु लाइनमा ठेलमठेल गरिरहेका थिए । लाइनमा वृद्धवद्धासमेत थिए । सडकमा हिँड्नेहरु यहाँ के भएछ भनेर चासो लिएर हेर्थे । तर भीड अरु केही नभएर यूरिया मल लिन आएका किसानहरुको थियो ।

    हाम्रो बहुउद्देश्यीय कृषि सहकारी संस्थाले बाँडेको मल लिन तछाडमछाड दिनभर चल्यो । कोही बिहानैबाट भोकै लाइनमा बसेको बताउँदै थिए त कोही बालबच्चासमेत लिएर आएका थिए । हातमा बोरा बोकेर मल लिन आएकाहरु तीन किलो मल प्लाष्टिकमा झुण्डाउँदै असिनपसिन हुँदै घर तिर लागे । कोही मल नै नलिई सरकारलाई गाली गर्दै हिँडे ।

    यतिबेला किसानका खेतमा धान पसाउने बेला भएको छ । अबको करिब १० दिनमा धान पसाउँछ । त्योभन्दा अगाडि नै मल हाल्न सके उत्पादन राम्रो हुने थियो भन्ने आशा किसानको छ । तर, मल पाउन भने महाभारत नै लड्नुपर्ने जस्तो अवस्था छ । चितवनमा मात्रै होइन देशभरकै समस्या यस्तै छ । मल लिन लाइनमा बसेका भरतपुर महानगरपालिका–११ कोलटाँडीका किसान खगेश्वर बस्याल भन्छन्, ‘करिब दुई घण्टा लाइनमा बसेँ । धकेलाधकेल हुन थालेपछि लाइन नै छाडिदिएँ ।’

    उनले एक बिघा जग्गामा धान खेती गरेका छन् । उनलाई एक बोरा युरिया मल आवश्यक थियो । तर एक किलो पनि पाएनन् । साउन ८ गते धान रोपेको सुनाउँदै बस्यालले भने, ‘रोपाइँ भएको दिनदेखि एकपटक पनि युरिया मल हालेको छैन । रोपाइँ भएको दिन डिएपी मल छरेँ, त्यति हो ।’ समयमै मल हाल्न नपाउँदा उत्पादन घट्ने चिन्ता बस्याललाई जस्तै अरु धेरै किसानलाई छ । मल वितरणमा ठेलमठेल भएपछि जिल्ला प्रहरी कार्यालय चितवनले लाइन व्यवस्थित गर्न भन्दै प्रहरी नै परिचालन गरेको थियो ।

    मागअनुसार आपूर्ति नहुँदा समस्या

    सहकारी संस्थाका प्रवन्धक श्याम गिरीले सहकारी संस्थालाई दुई सय बोरा युरिया मल आवश्यक भएकोमा जम्मा ३० बोरा मात्रै उपलब्ध भएको बताए । ‘जम्मा ३० बोरा मल छ, ४ सय जना किसान हुनुहुन्छ कसरी बाँड्ने ?’ प्रवन्धक गिरीले भने, ‘पहिला ५/५ किलोका दरले बाँड्ने सोच बनाएका थियौं, पछि किसान थपिएपछि तीन किलो बाँड्यौं । ५०/६० जना त रित्तै जानुभयो ।’ उनले आफूहरुलाई दैनिक एक सय बोरा मल १० दिनका लागि चाहिने बताए ।

    चितवनमा प्रत्येक वर्ष १५ हजार मेट्रिक टन मल आवश्यक पर्छ । मलको माग हरेक वर्ष बढ्दै गएको छ । माग अनुसारको आपूर्ती छैन । बजारमा युरिया किन्न पाइँदैन । जिल्लामा कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि सहकारी संस्थामार्फत् मल बाँड्दै आएका छन् । त्यसैले ब्यापारीहरुले बजारमा आफूखुसी रासायनिक मल बिक्री गर्न पाउँदैनन् ।

    कृषि सामाग्री कम्पनीले यो वर्ष साढे १२ हजार मेट्रिक टन मल बाँड्ने योजना बनाएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडका चिवतन शाखा प्रवन्धक रविन्द्र गौतमका अनुसार कम्पनीले आइतबार यो वर्षको पहिलोपटक किसानलाई १४७ मेट्रिक टन युरिया जिल्लाका विभिन्न १४७ कृषि सहकारी मार्फत बाँडेको छ । बाँकी ६ सय मेट्रिक टन यही साता वितरण गर्ने योजना रहेको गौतमले जानकारी दिए । कम्पनीले गत वर्ष १० हजार मेट्रिक टन मल बाँडेको थियो ।

    जिल्लामा विगत ५ वर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेशनले पनि मल वितरण गर्दै आएको छ । कुल मागको ३० प्रतिशत मल उसले वितरण गर्छ । कर्पोरेशनका चितवन शाखा प्रमुख बुद्धिविनोद दाहालले किसानहरुको मागअनुसार युरिया मल पु¥याउन नसकिएको बताउँछन् । ‘सरकारी अनुदानको मल लिन किसानहरु लालायित छन्, तर मागअनुसार हामी आपूर्ती गर्न सक्दैनौं,’ प्रमुख दाहालले भने, ‘साउन र भदौमा बढी युरिया चाहिन्छ, यहि बेला हामीसँग स्टक हुँदैन, नयाँ बजेट अनुसार किन्न पनि सकिँदैन ।’

    झण्डै ४५ रुपैयाँ प्रतिकेजी पर्ने युरिया मल सरकारी अनुदानमा जम्मा १४ रुपैयाँ किलोमा किसानले पाउने गरेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनले साउन महिनामा जिल्लामा १३० सहकारी मार्फत ८५९ मेट्रिक टन युरिया वितरण गरेको थियो । कर्पोरेशनसँग अब युरिया मल छैन, डिएपी र पोटास मात्रै छ । हिउँदमा भन्दा बर्खामा युरिया मलको माग बढी हुने गरेको कर्पोरेशनका प्रमुख दाहालले बताए ।

    तर जहिले पनि मागअनुसार मल आपूर्ती हुन सकेको छैन । कृषि सामग्री कम्पनी लिमिटेड चितवनका प्रवन्धक गौतमका अनुसार जिल्लामा १० हजार मेट्रिक टन मात्रै मल आपूर्ती हुँदै आएको छ ।

    राष्ट्रिय समस्या

    मल अभाव हरेक वर्ष देखिने राष्ट्रिय समस्या हो । सरकारले किसानहरुको मागभन्दा निकै कम मात्रै मल अनुदानमा ल्याउने गर्दछ । कृषि मन्त्रालयले ५ लाख मेट्रिक टन मलको माग गरे पनि अर्थ मन्त्रालयले जम्मा २ लाख ५० हजार मेट्रिक टन मात्रै मलमा अनुदान दिने गरेको छ ।

    कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले माग र आपूर्तीको सन्तुलन नमिल्दा यो राष्ट्रिय समस्या बनेर आएको बताए । अर्कोतिर खरिद प्रकृयामा समेत समस्या छ । जेठ १५ मा बजेट आए पनि पास भएर सरकारी प्रकृयाअनुसार मल किन्न समय लाग्छ । तर, यही समयमा नै किसानलाई मल आवश्यक पर्छ ।

    नेपालमा पछिल्लो समयमा व्यवसायिक कृषि कर्म गर्ने क्रम बढेसँगै मलको माग पनि बढेको कृषि सामाग्री कम्पनी लिमिटेड चितवन शाखा प्रवन्धक गौतम बताउँछन् । चितवनमा हरियो मकै, केरा, तरकारी उत्पादन बढी हुन थालेकाले आपूर्ती बढाउन प्रस्ताव गरिएको गौतमले बताए । किसानहरुले पनि अनावश्यक रुपमा रासायनिक मलको प्रयोग बढाउँदै लगेको कृषि ज्ञान केन्द्रका प्रमुख ढकालको भनाइ छ । ‘धेरै मल हालेपछि धेरै फल्छ भन्ने भ्रम किसानलाई पनि छ, सोही कारण माग बढेको हो,’ ढकालले भने, ‘कति जमिनमा कति मात्रामा कुन–कुन मल प्रयोग गर्ने भन्ने मापदण्डका आधारमा वितरण प्रणाली व्यवस्थित बनाउनुपर्छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार