२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

दोस्रो पाँचखाल महोत्सव असोज २९ देखी


२०७२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ४, शनिबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल-लामो समयदेखि काभ्रे जिल्लाको फुटबल क्षेत्रमा आफ्नो सक्रिय सहभागिता जनाउँदै आएको पाँचखाल युनाइटेड फुटबल एशोसिएसन, पाँचखालले आउँदो असोज २९ गतेदेखि दोस्रो पाँचखाल महोत्सव २०७६ आयोजना गर्ने भएको छ ।

    महोत्सव बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विगत ६ वर्ष अगाडि समेत पाँचखाल महोत्सव आयोजना गरिसकेको पाँचखाल युनाइटेड फुटबल एशोसिएनको आयोजनामा पाँचखाल क्षेत्रको विविध पक्षको प्रचार प्रसार गर्न दोस्रो पाँचखाल महोत्सव २०७६ यहि असोज २९ गते देखि कात्तिक ९ गते सम्म आयोजना गर्न लागिएको आयोजकले जानकारी दिए ।

    पाँचखाल क्षेत्रको विविध साँस्कृतिक मौलिकतालाई जगेर्ना गर्न, पाँचखालका कृषि, स्थानीय उत्पादन तथा पर्यटकीय प्रवद्र्धन, यस क्षेत्रका प्रतिभाहरुलाई प्रवद्र्धन तथा प्रचार प्रसार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा यस क्षेत्रको कृषि उपज उत्पादन, साँस्कृतिक सम्पदा तथा चाडबाड लक्षित व्यापारिक स्टलहरु महोत्सवमा राखिने आयोजक संस्थाका सचिव तथा कार्यक्रम संयोजक जीवन नेपालले कार्यक्तममा जानकारी दिए । कार्यक्रम संयोजक नेपालले पाँचखाल नगर पालिका, उद्योग वाणिज्य संघ, नगरमा सक्रिय विभिन्न सामाजिक संघ संस्था तथा क्लवहरुसँगको समन्वय र सहकार्यमा समग्र पाँचखालको उत्थान तथा प्रचार प्रसारका लागि महोत्सव आयोजना गर्न लागेको समेत बताए ।

    पाँचखाल क्षेत्रको खेलकुदलाई बलियो बनाउन बिभिन्न राष्ट्रिय स्तरको प्रतियोगिता समेत आयोजना गर्न महोत्सव उपयोगी हुने बताउँदै नेपालले पहिलो पाँचखाल महोत्सवको अनुभवलाई सदुपयोग गर्दै भिजिट नेपाल २०२० थप मद्दत पु¥याउन समेत महोत्सव आयोजना गर्न लागिएको बताए । महोत्सवमा स्थानीय उत्पादन, पाँचखालका तरकारी तथा कृषिजन्य उत्पादनलाई महोत्सवमा विशेष महत्व दिने र पाँचखालका साँस्कृतिक पर्यटकीय स्थलहरु अनैकोटमा रहेको भ्यू टावर लगायतका स्थलहरुको प्रचार गरी पाँचखालमा पर्यटक भित्राउन समेत महोत्सव फलदायी हुने नेपालले बताए ।

    कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रताप लामाले महोत्सवमा पाँचखालका विकासका सम्भावनाहरुलाई समेत साकार पार्ने बताउँदै पाँचखालमा उत्पादित तरकारीको प्रचार गर्दै अर्गानिक पाँचखाल बनाउने मुख्य ध्येय रहेको बताए । लामाले पाँचखाल नगरभित्र बाहुल्यता रहेका जनजातिहरु मध्ये दनुवार, तामाङ लगायत स्थानीयको भेषभुषा, कला, संस्कृति समेत महोत्सवको आकर्षण रहने धारणा राखे ।


    महोत्सवमा ८० देखि १ सय स्टलहरु रहने र १ लाख भन्दा बढी आगन्तुकहरुले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको आयोजक संस्था पुफाका अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिए । महोत्सवमा प्रत्येक दिन चर्चित कलाकारहरुको साथमा मनोरन्जनात्मक कार्यक्रमका साथै बालबालिकाको लागि बालोद्यँन समेत रहने आयोजकले जनाएको छ ।

    आयोजक पाँचखाल युनाइटेड फुटबल एशोसिएसनका अध्यक्ष मिलन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ काभ्रेका सदस्य सरोजश्री अधिकारी, पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष इश्वरी राजकुमार मैनाली लगायतले धारणा राखेका थिए । संस्थाका उपाध्यक्ष प्रताप लामाले स्वागत मन्तव्य राखेको कार्यक्रम कोषाध्यक्ष रोशन बोलखेले संचालन गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार