२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ठग्दै हिड्ने युवतिलाई प्रहरीले झ्याप


२४९४ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • ललितपुरको झम्सिखेलमा रहेको कुटुम्ब होटलमा एक जना युवती आइन्। तत्कालका लागि ३ वटा र पछिका लागि गरी ८ वटा कोठा बुक गरिन्। आमाबुवा अस्ट्रेलियामा रहेको र दुई/चार दिनमा नेपाल आउने भएकाले रक्षा बन्धन होटलमै मनाउन कोठा बुक गर्नु परेको उनले बताइन्। होटलले बुकिङका लागि पहिला नै थोरै पैसा दिन आग्रह गर्‍यो। उनले आमाबुवा आएपछि तिर्ने भन्दै टारिन्। भोलिपल्ट होटलमा साथीहरू बोलाइन्। महँगो रक्सी मगाएर पार्टी गरिन्।

     तीन रात होटलमा बसेपछि आमाबुवा अस्ट्रेलियाबाट आउन लागेकोले विमानस्थलमा लिन जाने भन्दै हिँडिन्।आमाबुवा लिन विमानस्थल हिँडेकी युवती साँझसम्म फर्किनन्। तीन दिनमा उनको बिल ९६ हजार ६ सय ७० रुपैयाँ उठेको थियो। युवती गायब भएपछि होटल सञ्चालक सञ्जय पराजुलीले प्रहरीमा उजुरी दिए।

    झम्सिखेलको एक बुटिकमा एक युवती छिरिन्।

    बुटिकका ४० हजारजतिको कपडा किनिन्। पैसा तिर्न एटिएम कार्ड दिइन्। बुटिक सञ्चालिकाले एटिएमले काम नगरेको बताइन्। त्यो काठमाडौंमा चिनियाँहरूले एटिएम ह्याक गरेर पैसा लुटेको बेला थियो। ह्याकरका कारण जताततै समस्या छ भन्दै ती युवतीले साँझतिर म पैसा ल्याइदिन्छु भनेर मोबाइल नम्बर दिइन्। प्याक गरिसकेको सामान हेरेर साहुनीले ‘हुन्छ’ भनिन्। तर त्यो साँझमात्र होइन धेरै साँझ बिते ती युवती आउँदै आइनन्। सञ्चालिकाले मोबाइल नम्बरमा फोन गरिन्। युवतीले कहिले पोखरा, कहिले लुम्बिनी, कहिले हेटौंडा भन्दै ढाँटिन्। केही सीप नलागेपछि  बुटिक सञ्चालिकाले पनि प्रहरीमा उजुरी दिइन्।

    गत मंगलबार प्रहरी प्रधान कार्यालय नक्साल नजिकैको बुफे रेष्टुरेन्टमा एक युवती छिरिन्। ‘आज साँझ बर्थ डे मनाउन डेकोरेसन गरिदिनुस्’ भनिन्।रेष्टुरेन्ट सञ्चालकले डेकोरेसन गर्नुअघि अग्रिम भुक्तानी मागे।उनले साँझ नै दिने बताएपछि रेष्टुरेन्ट सञ्चालकलाई शंका लाग्यो। ती रेष्टुरेन्ट सञ्चालक होटल कुटुम्बमा भएको यस्तै ठगीबारे जानकार थिए। होटल कुटुम्बका सञ्चालक पराजुलीलाई उनले फोन गरे।पराजुलीलाई युवतीको हुलिया बताइदिए। डेकोरबारे जानकारी दिएपछि ट्याक्सी चढेर उनी दरबारमार्गतिर लागिन्।होटल कुटुम्बका सञ्चालक पराजुली त्यतिञ्जेल रेष्टुरेन्टमा पुगिसकेका थिए।

    ट्याक्सी नम्बर हेरेर पराजुली फलो गर्न थाले। युवती चढेको ट्याक्सी बागमती पुल तरेर कानदेवता हुँदै झम्सिखेलतिरै मोडियो। पराजुलीले पुल्चोक प्रहरीलाई खबर गरे। ब्रिटिस स्कुलको गेटअगाडि प्रहरीले ट्याक्सीमा रहेकी युवतीलाई नियन्त्रणमा लियो।उनको कोठा छापा मार्दा झम्सिखेलबाट किनेको कपडा भेटियो।

    पक्राउ परेकी युवतीले काठमाडौंमा भर्खरै खुलेको म्यारिएट होटलमा पनि खाना खाएर रकम नतिरी भागेको ललितपुर प्रहरीका डिएसपी सन्तोष तामाङले बताए। दिनभर ट्याक्सी भाडामा लिएर पैसा नदिइ उनी भागेको पनि डिएसपी तामाङले बताए।उनले होटल कुटुम्बकै फ्रन्ट डेस्क अफिसरको भिजिटिङ कार्ड दुरूपयोग गरेर सोल्टीमोडमा रहेको एक टेलरिङबाट उधारोमा कपडा किनेको पनि अनुसन्धानमा खुलेको छ।पक्राउ परेको युवतीले बाध्य भएर पेट पाल्न नाटकीय रूपमा ठगी गर्नु परेको प्रहरीसमक्ष बयान दिएकी छन्। पारिवारिक कारण देखाउँदै उनले आमाबुवाले घरबाट निकाला गरिदिएको उनले बताएकी छन्।

    एक नर्सिङ कलेजमा पढ्दापढ्दै उनी कुलतमा फसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।उनी केही समय रिह्याब सेन्टरमा समेत बसेकी थिइन्। पछिल्लो समय उनी चाबहिलमा एक होस्टलमा बस्थिन्।प्रहरीले उनलाई हिरासतमा राखेर अभद्र व्यवहार, ठगी मुद्दामा थप अनुसन्धान भइरहेको जनाएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार