२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नक्कली नोटको विगविगती, सक्कलीको बिचमा घुसाएर कारोबार


२४०६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ४, सोमबार मा प्रकाशित ४ साल अघि
  • राजन कार्की–

    भारतीय नक्कली नोटको खुबै चर्चा हुने नेपालमा अब नेपाली नक्कली नोटको चलखेलसमेत बढ्न थालेको छ ।यति सम्मकी नक्कली नोटका कारोबारीहरुले नेपालमै नक्कली नोट छाप्ने मेसिन नै राखेर कारोबार गर्न थालेका छन् । यसको पछिल्लो उदाहारण हो – सोमबार विहान काठमाडौंको बौद्धबाट नक्कली नोट छाप्ने मेसिन सहित पक्राउ परेका तीन जनाको घटना ।

    विशेष सुराकीका आधारमा सोमबार विहान महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले काठमाडौंको बौद्ध स्थित नयाँबस्तीबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जनालाई पक्रियो । बृत्तका प्रमुख डिएसपी रमेश सिंहका अनुसार, प्रहरीले उनीहरुका साथबाट ३४ हजार बराबरको नक्कली नोट र नोट बनाउन तयार पारिएको करिव २ सय ९० वटा कागज, रंगीन फोटोकपी मेसिन सहित अन्य सामाग्री समेत बरामद गरेको छ ।

    प्रहरीका अनुसार, पक्राउ पर्नेमा दोलखा जिल्ला मेलुङ गाउँपालिकाका राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपाली छन् । डीएसपी सिंहका अनुसार, उनीहरुले काठमाडौंमा फ्याल्ट नै भाडामा लिएर नक्कली नोट छाप्ने गरेको खुलेको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, पक्राउ परेका उनीहरुले विभिनन बहानामा नक्कली नोट बनाउँदै बजारमा पु¥याउँदै आएका थिए । उनीहरुले अहिलेसम्म ६० हजार रुपैयाँ बराबरको नक्कली नोट बजारमा पुर्‍याईसकेको प्रहरी समक्ष स्वीकारेका छन् ।

    यस अघि गत चैतमा पनि प्रहरीले काठमाडौंको बागबजारबाट विशेष प्रकारको कला अर्थात जादु प्रयोग गरेर नक्कली नोट बनाउ“दै ठगी गरेको आरोपमा प्रहरीले २ जना पक्राउ गरेको थियो । महागरीय प्रहरी परिसर, काठमाडौंका डिएसपी होविन्द्र बोगटीका अनुसार, उनीहरुले विभिन्न व्यक्तिलाई सक्कली नोटबाट उस्तै देखिने र कसैले पनि पत्ता नपाउने अर्को नोट बनाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्दै आएका थिए ।

    माथि उल्लेखित दुई घटना घटना त प्रतिनिधिमुलक उदाहारणमात्र हुन् । प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार, पछिल्लो समय काठमाडौं शहर र वीरगञ्ज नाका आसपास कारोबारीहरुले मेसिन नै राखेर नक्कली नोट छाप्ने काम गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसो त पछिल्लो डेढ बर्षको अवधिमा काठमाडौंबाट मात्र ७ पटक गरी करोडौं रुपैयाँ नक्कली नोट बरामद् भइसकेको छ ।

    यस्तो नक्कली नेपाली नोट बरामद्को श्रृङ्खला

    – २०७५ चैत ४ गते नक्कली नोट कारोवारको आरोपमा जादुगर पक्राउ
    – २०७५ माघ २६ गते, काठमाडौंको गोगंबुबाट १ लाख ५० हजार रुपैयाँ बराबरको नक्कली नोट सहित १ जना पक्राउ
    – २०७५ कात्तिक ४ गते, काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोट सहित ५ जना पक्राउ
    – २०७५ असोज २६ गते, काठमाडौंको रत्नपार्कबाट १० हजार रुपैयाँ बराबरको नक्कली नोट सहित १ जना पक्राउ
    – २०७५ असोज २३ गते, काठमाडौंको रत्नपार्कबाट ५ हजार रुपैयाँ बराबरको नक्कली नोट सहित १ जना पक्राउ
    – २०७५ जेठ २ गते, २ करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोट सहित ६ जना पक्राउ
    – २०७६ कात्तिक ४ गते, काठमाडौंको बौद्धबाट ३४ हजार रुपैयाँ बराबरको नक्कली नोट र नोट छाप्न प्रयोग गरिएको मेसिन सहित ३ जना पक्राउ

    प्रहरी अनुसन्धान अनुसार, काठमाडौंबाट अहिले सम्म नक्कली नोट सहित पक्राउ परेका उदाहारण हेर्दा यसमा संगठित रुपमा नै गिरोहहरु सक्रिय छन् ।

    महागरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार, विशेष गरी महत्वकांक्षी युवाहरु संगठीत भएर यसको कारोबारमा लागेका छन् । केही घटनामा भारतिय नागरिकको समेत संलग्नता देखिएको छ ।

    यसमा संलग्न गिरोहले नक्कली नोटको कारोबार कसैलाई झुक्याउने किसिमले सानो सानो मात्रामा गर्ने गरेका छन् । रेष्टुरेन्टमा वा कुनै सामान खरीद गर्दा सक्कली नोटको विचमा मिसाएर नक्कली नोट कारोबार गर्ने गरेका छन् ।

    पूर्वडिआइजी हेमन्त मल्लका अनुसार, पहिले पहिले नेपालमा भारतीय नक्कली रुपैयाँ बढी मात्रामा भेटिने गरको थियो । तर, अहिले नेपाली नोटको समेत कारोबार बढेको देखिन्छ ।

    उनका अनुसार, नक्कली नेपाली रुपैयाँको बजार भनेको नेपालनै हो । कारोबारीहरुले मुख्य गरी भीडभाडमा किनमेल गर्दा या धेरै रुपैयाँको किनमेल गर्दा बीचमा नक्कली नोट घुसाएर यसको कारोबार गर्ने गरेका छन् ।

    यस्तो छ कानूनी व्यवस्था

    मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २५६ अनुसार, खोटा मुद्रा बनाउने काममा संलग्न भएमा खोटा मुद्राको परिणाम र मूल्य विचार गरी ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना तोकिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार