२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

केयुको एमबिबिएस प्रवेश परीक्षामा , छानबिन हुँदै


१८८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ५, मंगलबार मा प्रकाशित ४ साल अघि
  • पियनको जागिरबाट रिटायर्ड भएका बुवालाई उनले आफू डाक्टरी पढ्ने वाचा गरेका छन्। बुवाको सन्देहबीच मेरिट लिस्टमा नाम निकालेर ‘स्कलरसिप’मा पढ्ने भन्दै उनी मिहिनेत गरिरहेका छन्।

    चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)को परीक्षामा यसपटकको एमबिबिएस प्रवेश परीक्षामा उनले ८० नम्बर ल्याए। तर उनले ल्याएको ८० नम्बर मेरिट लिस्टमा पर्न पर्याप्त भएन। तीन वर्षयता एमबिबिएसको प्रवेश परीक्षाकै लागि तयारी गरिरहका मोहम्मदले हार मानेनन्। उनले गत असोज ४ गते काठमाडौं विश्वविद्यालयमा एमबिबिएसको परीक्षाका लागि प्रवेश परीक्षा दिए। तर जब रिजल्ट आयो उनी छाँगाबाटे खसे।

    ५० नम्बर आए पास हुने परीक्षामा उनले नाम समेत निस्किएन। आइओएमको परीक्षामा ८० नम्बर ल्याएका नसिरलाई परीक्षाको नजितामाथि शंका लाग्यो। उनले धुलिखेल पुगेर काठमाडौं विश्वविद्यालयको एमबिबिएसको नतिजाको रिटोटलिङको माग गरे।

    तर अघिल्लो पटक फेल भएका नसिरको यसपटक ७४ नम्बर आयो। काठमाडौं विश्वविद्यालयले सञ्चालन गरेको एमबिबिएसको परीक्षामा धेरै विद्यार्थीहरूले प्रश्न उठाएका छन्। झण्डै ८ हजार विद्यार्थी सहभागी प्रवेश परीक्षामा झण्डै ४ हजार विद्यार्थी पास भएका थिए। तर परीक्षाको नतिजामा चित्त नबुझेका ९ सय ८६ विद्यार्थीको रिटोटलिङका लागि फारम बुझाएका थिए। लगत्तै केयुले रिटोटलिङ त गर्‍यो। तर २८८ विद्यार्थीको नतिजा हेरफेर भयो।

    ‘आइओएमको परीक्षामा कपिल खड्का भन्ने साथीको ८२ नम्बर आएको छ’, नसिर भने, ‘तर केयुको पास लिस्टमा नाम आएन। जबकी आइओएमको परीक्षा स्ड्याण्डर्ड थियो। एक साताअघि ८२ ल्याउने मान्छेले ५० नम्बर नल्याउने भन्ने हुँदैन।’नसिर केयुले पहिला निकालेको रिजल्टमा नाम भएकी शिवानी साहको नाम रिटोटलिङपछि हटाइएको बताउँछन्।’उसको पहिलो रिजल्टमा ८२ नम्बर आएको थियो। तर पछि पास लिस्टमा नाम छैन’, नसिरले भने, ‘परीक्षामा धाँधली भएको यसैबाट स्पष्ट हुन्छ।’

    उनी केयुको परीक्षाको कापी जाँचसँगै परीक्षामा समेत प्रश्न उठाउँछन्।

    ‘केयुको परीक्षा अमर्यादित भएको छ, परीक्षा हलमा विद्यार्थीहरूले मोबाइल लगेका छन्’, नसिरले भने, ‘जबकी आइओएमको परीक्षामा विगतमा कानमा ट्रान्समिटर डिभाइस राखेर चोरी गरेको पाइएपछि डटपेन समेत परीक्षा सञ्चालन गर्नेले दिने चलन छ।’पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र आइओएमले समेत हातको औंठाको बायोमेट्रिक लिइएको नसिर बताउँछन्।’केयुले परीक्षाको कुनै पनि आचारसंहिता पालना गरेन’, नसिरले भने, ‘परीक्षा अमर्यादित भएकाले पुन: परीक्षा हुनुपर्छ।’

    नसिरसँगै परीक्षा दिएका विराटनगरका अजयकुमार यादव पनि केयुको रिजल्टबाट सन्तुष्ट छैनन्।उनले एमबिबिएसको प्रवेश परीक्षामा ७८ नम्बर ल्याएका छन्। रिटोटलिङमा पनि उनको ७८ नम्बर नै आएको छ।’मेरो अपेक्षा ९० नम्बर आउने थियो। घर आएर आफ्नो जवाफ र प्रश्नमा दिएको जवाफमा दुइटा नमिले जस्तो लाग्छ। तीन वटा थप जवाफमा शंकामा राख्दा समेत मेरो नम्बर ८५ त पक्का आउनुपर्ने हो’, यादवले भने, ‘तर नम्बर रिटोटलिङमा पुरानै नम्बर दिइयो।’अजय आफ्नो नम्बर हेरफेर भएको भए मेरिट लिस्टमा पर्ने दाबी गर्छन्।

    ‘८३ नम्बर आए मेरिट लिस्टमा पर्ने थिएँ’, उनले भने। रिटोटलिङ गर्दा समेत कलेजले ८३ नम्बर भन्दा कम नम्बर मात्र हेरफेर गरेको अजय बताउँछन्।’साठी जनाको मेरिट लिस्टमा मेरो नाम पर्थ्यो। त्यसैले माथिको लिस्ट बिग्रन्छ भनेर मेरो नम्बर हेरफेर नगरिएको हो’, अजय भन्छन्, ‘कलेजले सही उत्तर के हो भनेर बेवसाइटमा प्रकाशित गर्नुपर्छ।’

    भारतमा देशभरमै एमबिबिएस परीक्षाका लागि एकैपटक परीक्षा हुने र नतिजा समेत बेवसाइटमा राखिने गरिएको अजय बताउँछन्।’परीक्षाको नतिजा हेरफेर भएको अवस्थामा प्रश्न उठेपछि विश्वविद्यालयले सही जवाफ सार्वजनिक गर्नुपर्छ’, अजय भन्छन्, ‘केयुको परीक्षा अमर्यादित भयो। मेरो परीक्षा सेन्टरमा जाँच दिँदै गर्दा मोबाइल बजेको छ।’आइओएमको जाँचमा पेटी लगाउन नदिइएको अजय बताउँछन्।

    मेरिट लिस्ट हेरफेर नगर्न विश्वविद्यालयले अनेक हतकण्डा गरेको उनी बताउँछन्। ‘उनीहरू आइओएम र अन्य ठाउँमा समेत मेरिट लिस्टमा नाम निकाल्नेहरू नै केयुको मेरिट लिस्टमा रहेको बताउँछन्’, अजयले भने, ‘त्यस्ता २० जना विद्यार्थी होलान्। तर बाँकी ४० जना त फरक छन्।’केयुमा एमबिबिएसको प्रवेश परीक्षामा चित्त नबुझाएका अन्य दुई विद्यार्थीले समेत सेतोपाटीको कार्यालयमा आएर परीक्षाको सही जवाफ सार्वजनिक गर्न माग गरेका छन्। दिलिपकुमार साह र आकाश साहलाई पनि केयुको परीक्षाको नतिजा चित्त बुझेको छैन।काठमाडौं विश्वविद्यालयको प्रशासन प्रमुख दीपक दाहालले भने विश्वविद्यालयले परीक्षाको रिजल्टका विषयमा छानबिन कमिटी बनाएको बताए।

    ‘हामीले परीक्षा नियन्त्रक पन्ना थापाको संयोजकत्वमा तीन सदस्यीय छानबिन कमिटी बनाएका छौं’, दाहालले सेतोपाटीसँग भने, ‘समितिलाई यथाशिघ्र रिपोर्ट दिन भनिएको छ। सायद उहाँहरूले दुई/तीन दिनमा रिपोर्ट बुझाउनुहुन्छ होला।’उनले छानबिन प्रतिवेदन प्राप्त भएपछि मात्र एमबिबिएसको भर्ना सुरू गर्ने बताए।’छानबिन प्रतिवेदनको मर्म अनुसार हामी अगाडि बढ्छौं।’चिकित्सा शिक्षा आयोगले पनि विश्वविद्यालयको छानबिन प्रतिवेदन हेरेर अगाडि बढ्ने जनाएको छ।

    ‘मैले आयोगका उपाध्यक्ष कृष्ण गिरीसँग कुरा गरेको छु’, विद्यार्थी नसिरले सेतोपाटीसँग भने,उहाँले विश्वविद्यालको छानबिन प्रतिवेदन चित्तबुझ्दो नभए आयोगले हस्तक्षेप गर्ने बताउनु भएको छ।’रिपोर्ट चित्तबुझ्दो नभए आयोगले पुन: परीक्षा गराउने आवश्वासन प्राप्त भएको उनले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार