२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

तोडफोडमा संलग्न हुनेले तिरे ११ लाख


१८२६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक १०, आईतबार मा प्रकाशित ४ साल अघि
  • चितवन । उपचारको क्रममा बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज तोडफोड गर्ने ११ जनाले ११ लाख रुपैयाँ क्षतिपूर्ति तिरेका छन् । गत कात्तिक ३ गते कलेज तोडफोड गर्ने ११ जना पक्राउ परेका थिए ।

    पक्राउ परेका प्रत्येकले एक/एक लाख क्षतिपूर्ति कलेजलाई तिरेका छन् । कलेजले १४ लाख बराबरको क्षति भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा बिगो असुल उपर गरी पाउँ भन्दै मुद्दा दायर गरको थियो । उनीहरुविरूद्ध अभद्र व्यवहारमा चितवन प्रहरीले मुद्दा चलाएको थियो ।

    अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनीहरु ५५ हजार धरौटी तिरेर तारेखमा रिहा भएका छन् । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अभियोग पुष्टि भए १० हजार जरिवाना र एक बर्ष जेल बस्नुपर्ने बताए ।

    नवलपुर मध्यविन्दु नगरपालिका–९ वसन्तपुरकी ३२ वर्षीया आशा ज्ञवालीको उपचारका क्रममा गत कात्तिक २ गते कलेजमा मृत्यु भएको थियो । नाकमा समस्या भएर उपचार गर्न आएकी ज्ञवालीको उपचारका क्रममा मृत्यु भएपछि उनीहरुका आफन्तले कलेजको मूल गेट, आईसीयू, सीसीयूलगायतका क्षेत्रमा तोडफोड गरेका थिए ।

    ज्यान गुमाएकी मृतक महिलाको शुक्रबार पोस्टमार्टम गरिएको छ । शव परिवारले बुझेको प्रहरीले जनाएको छ । महिलाको उपचारको क्रममा मृत्यु भएपछि घटनाको छानबिन गरी मेडिकल काउन्सिलको टिम फर्किएको छ । काउन्सिलका सदस्य डा. कालुसिंह खत्रीको नेतृत्व चार सदस्यीय टोलीले घटनाका बारेमा छानबिन गरेको थियो । उनीहरुकै रोहवरमा मृतक महिलाको पोष्टमार्टम गरिएको हो ।

    चितवनका अस्पतालमा उपचारका क्रममा हुने मृत्यु र आफन्तले गर्ने आन्दोलन पछि धेरैजसो घटना लेनदेनमा मिलाउने गरेको पाइन्छ । तर, चितवन मेडिकल कलेजले घटनाका बारेमा यथार्थ छानबिन गर्ने भन्दै मेडिकल काउन्सिलको टिमलाई पत्र काटेर बोलाएको थियो ।

    कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक डा. हरिश न्यौपानेले मेडिकल काउन्सिलले दिने रिर्पोटका आधारमा आफूहरु अगाडि बढ्ने बताए । ‘चिकित्सकको लापवाही देखिए डाक्टरलाई कारवाही हुन्छ, क्षतिपूति सिफारिस गरे पनि दिन्छौं’ डा. न्यौपानेले भने, ‘होइन भने सधैं लापरवाही भन्ने र पैसाको बार्गेनिङ गर्ने चलनको अन्त्य चितवन मेडिकल कलेजले गर्छ । यो देशभरका अस्पताल र चिकित्सकका लागि नजिर समेत बन्छ, डाक्टरहरुले निर्धक्क भएर काम गर्ने वातावरण बन्छ ।’

    नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा. प्रकाश खतिवडाले उपचारको क्रममा बिरामीको मृत्यु भएपछि रकम माग्ने गिरोह नै सक्रिय हुने बताए । चितवन मेडिकल कलेज तोडफोड गर्नेहरुबाट भराइएको क्षतिपूर्तिले चिकित्सक तथा अस्पतालहरुको मनोवल बढेको छ’, डा. खतिवडाले भने ‘चिकित्सकले लापरवाही गरेको अनुसन्धानले देखिए डाक्टर जेल जान्छन्, हामी जोगाउन लाग्दैनौं, बिरामीका आफन्तहरुलाई पनि डाक्टरले साँँच्चै लापरवाही गरेका हुन् कि होइनन् भन्ने थाहा पनि हुन्छ, मर्यादित वातावरण बन्छ ।’

    चिकित्सक संघका केन्द्रीय सदस्य डा. कृष्ण पौडेलले चितवन मेडिकल कलेजमा भएको क्षतिको पूर्ति स्वंय तोडफोड गर्नेहरुबाट गराईनु सकारात्मक कदम भएको बताए । आउँदा दिनमा यस्ता घटना हुँदा डाक्टरलाई कुटपिट र तोडफोड गर्न हुँदैन आफैले तिर्नुपर्छ भन्ने सन्देश यसले प्रवाह गरेको डा. पौडेलले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार