२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कस्की उपनिर्वाचनमा २५ उम्मेदवार ३ खारेजीमा पर्ने


२२७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २२, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि हुन लागेको उपचुनावमा २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आउँदो मंसिर १४ गते हुने उपचुनावका लागि बिहीबार उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका हुन् । कास्की २ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त रहँदै आएको थियो ।

     

    अधिकारीको निधनका कारण यो ठाउँमा हुन लागेको उपचुनावमा अहिले उहाँकी पत्नी विद्या भट्टराई नै उम्मेदवार बन्नुभएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै भट्टराईले बिहीबार उम्मेदवारी दर्ता गर्नुभएको छ । भट्टराईको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन् ।

     

    यस्तै नेपाली कांग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । उम्मेदवारी दर्ता गर्ने क्रममा पौडेलले उपचुनाव सरकारलाई सही बाटोमा हिँडाउने अवसर भएको बताउनुभयो । कांग्रेसबाट उम्मेदवारका आकांक्षी रहेका शोभियतबहादुर अधिकारी र देवराज चालिसेलाई प्रस्तावक र समर्थक राख्दै पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

     

    यसैगरी उपचुनावका लागि राप्रपाबाट रोमबहादुर भण्डारी, साझा पार्टीबाट रजनी के.सी, मङ्गोल अर्गनाइजेशन पार्टीबाट रियाज गुरुङ, समाजवादी पार्टीबाट धर्मराज गुरुङ, नेपाली कांग्रेस बी.पी. बाट चन्द्रबहादुर रानाभाटले उम्मेदवारी दिनुभएको छ । साथै नेपाल कम्युनिष्ट पार्टी मालेबाट टेकनाथ भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, राप्रपा संयुक्तबाट गंगा मल्ल र देशभक्त समाज पार्टीबाट वीरबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

     

     

    उपचुनावमा विवेकशील नेपाली पार्टीले स्वतन्त्र उम्मेदवारको रुपमा जमुना शर्मालाई अघि सारेको छ । निर्वाचन आयोगले आफूहरुलाई चुनाव चिन्ह नदिएको र दल दर्ता पनि नगराएकाले पार्टीकै तर्फबाट स्वतन्त्र उम्मेदवारको रुपमा शर्माको उम्मेदवारी दर्ता गरिएको पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिनुभयो ।

    शर्मासँगै अन्य १० जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । स्वतन्त्रबाट उम्मेद्वारी दिनेमा उमनाथ गौतम, कमलजंग कुँवर, दीपक रेग्मी, नवराज बास्तोला, पुरुषोत्तम खनाल, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनिलबहादुर कोइराला र सुनिल भुसाल हुनुहुन्छ ।

     

    बिहीबार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको र यो समयमा २५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारी दर्ता गराएकामध्ये तीन जनाको नाम भने खारेज गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ ।

     

    राष्ट्रिय नागरिक पार्टीबाट नवराज घले, राष्ट्रिय मुक्ति आन्दोलन पार्टीबाट जयवन्त विक्रम शाह र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उम्मेदवारी दिनुभएको गजेन्द्र संवो लिम्बूको नाम समानुपातिकको सूचीमा रहेकोले उहाँहरुले दिनुभएको उम्मेदवारी खारेज गर्ने तयारीमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार