२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सिमा सुरक्षा नगर्दा नेपाली भूमी भारतले कब्जा-खनाल


२१४४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २३, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण भइरहेकाले तत्काल आफ्नो सीमाको रक्षा गर्नुपर्ने बताएका छन् । नेकपा काठमाडौँ महानगर कमिटीले नेपाल संवत् ११४० को अवसर पारेर आज वसन्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सीमा सुरक्षा गर्न नसक्दा नै नेपालको भूमि अतिक्रमणको चपेटामा परेको बताए ।

    हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी क्षेत्रलाई भारतीय भू–भागमा समेटिएको सन्दर्भमा उनले नेपाली भूमिको अतिक्रमण कुनै पनि नेपालीले सहन नसक्ने उल्लेख गरे ।  “लिम्पियाधुराबाट शुरु भएको महाकाली नदी नेपालको पश्चिमी सिमाना हो”, उनले भने, “यसलाई एकपक्षीयरूपमा परिवर्तन गर्ने अधिकार भारत सरकारलाई छैन ।”

    भारतको एक इन्च भूमि नेपाललाई नचाहिने र नेपालको एक इन्च भूमि पनि नछाडिने उनले प्रष्ट पारे । नयाँ सरकार बनेको एक वर्षको अवधिमा संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्दा जनताको आकाङ्क्षाअनुसार काम हुननसकेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले अब विकास निर्माणले गति लिने विश्वास व्यक्त गरे । उनले कमीकमजोरीलाई सच्याएर प्रभावकारी ढङ्गबाट सरकारका कामकारवाही अगाडि बढाउन सुझाव दिए ।

    नेपाल संवत् सिङ्गो देशको संवत् भएको उल्लेख गर्दै नेता खनालले नेपाल संवत् नेपाली जनताको साझा सम्पत्तिका रुपमा रहेको बताए । “नेपाल संवत्लाई सरकारले राष्ट्रिय संवत्का रुपमा मानेको छ”, उनले भने, “यसलाई दैनिक जनजीवनमा प्रयोगमा ल्याउने अभियान चलाउनुपर्छ ।”कार्यक्रममा महानगर कमिटी इन्चार्ज जीवनराम श्रेष्ठले नेपाल संवत्को व्यवहारिक कार्यान्वयनमा वर्तमान सरकार र नेकपाको पूर्ण साथ तथा सहयोग रहेको बताए । नेकपाका सचिवालय सदस्य वामदेव गौतम, कामपाका प्रमुख विद्यासुन्दर शाक्यलगायत नेकपाका नेता कार्यकर्ताको उपस्थिति  थियो । सो अवसरमा नेपाली कला, संस्कृति झल्कने बाजागाजा, नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार