काठमाडौं– संसदको राज्य व्यवस्था तथा सुशासन समितिले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।सोमबारको बैठकपछि समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
भारतले हालै जारी गरेको नयाँ ‘राजनीतिक नक्सा’मा नेपाली भू–भागलाई समेटिएको विषयमा छलफल गर्न सोमबार राज्य व्यवस्था समितिको बैठक बोलाइएको थियो ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्रीलाई समेत बोलाइएकोमा प्रधानमन्त्री ओली भने उपस्थित भएनन् ।प्रधानमन्त्री ओली स्वास्थ्यका कारण उपस्थित हुन नसक्ने भन्दै प्रधानमन्त्रीको ‘प्रतिनिधि’का रुपमा भूमि व्यवस्था मन्त्री पद्मा अर्याल बैठकमा सहभागी भएकी थिइन् ।
प्रधानमन्त्रीको प्रतिनिधिका रुपमा सहभागी भएकी मन्त्री अर्यालले नेपालले हाल प्रयोगमा ल्याइरहेको नक्सा क्रुटिपूर्ण रहेको स्वीकारेकी थिइन् ।उनले लिम्पियाधुराबाट बग्ने काली नदी (कुटीयान्दी) नै नेपाल–भारत सीमा रहेका बताएकी थिइन् ।बैठकमा पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समेत सहभागी थिए । बैठकमा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले महाकाली नदीको उद्गम ठाउँ लिम्पिया धुरा भएको र लिम्पियाधुराको पूर्वी क्षेत्र नेपालको र पश्चिमी क्षेत्र भारतको भएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस