२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

सम्पत्ति विवरणमा मन्त्रीहरुले ऋण को विवरण पेस


१६४७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • विराटनगर — मुख्यमन्त्री शेरधन राई बाहेक अरु प्रदेश मन्त्रीहरुको सम्पत्ति विवरणमा ऋणैऋण देखिएको छ । मन्त्रालयको आधिकारीक वेभसाइटमा सार्वजनिक गरिएको विवरण अनुसार उनीहरुको सम्पत्तीमा पोहोरभन्दा खासै तलमाथि देखिएको छैन । गत वर्ष मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक गर्न आनाकानी गरेको प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले यसपालि भने मुख्यमन्त्री र मन्त्रीहरुको सम्पति सार्वजनिक गरेको छ ।

    गत वर्षको सम्पत्ती विवरणमा मुख्यमन्त्री राईबाहेक चारैजना मन्त्रीहरुले ठूलो रकम ऋण लिएको देखिएको थियो। यो वर्षपनि यथावत रहेको विवरण उल्लेख छ। प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले गतवर्ष पेस गरेको सम्पति विवरणमा सम्भावी सहकारी बानेश्वरमा ३ लाख रुपैयाँ ऋण रहेको विवरण पेस गरेका थिए।

    उक्त ऋण बाँकी नै रहेको विवरण उनले यो वर्ष पनि पेस गरेका छन्। प्रदेश सरकारको ढुकुटी संचालन गर्ने आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले गत वर्ष पेस गरेको विवरणमा २ करोड ७१ लाख ऋण रहेको देखिएको थियो। आङ्बोले नेपाल इन्भेष्टमेन्ट बैंकबाट २ करोड ५१ लाख र कुमारी बैंकबाट २० लाख रुपैयाँ व्यवसायको लागि ऋण लिएको विवरण पेस गरेका थिए। यसवर्षको सम्पति विवरणमा पनि उक्त ऋण बाँकी रहेको उल्लेख छ।

    यसैगरी सामाजिक विकासमन्त्री जीवन घिमिरेले बैंक अफ काठमाडौंबाट १ करोड १८ लाख ५५ हजार र एक्सल बैंकबाट ४ लाख ३२ हजार गरी १ करोड २२ लाख ८७ हजार रुपैयाँ ऋण लिएको विवरण गत वर्ष पेस गरेका थिए। मन्त्री घिमिरेले यस वर्ष पेस गरेको विवरणमा एक्सल बैंकबाट लिएको ४ लाख ३२ हजार रकम ऋण चुक्ता गरेको पाइएको छ।

    उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदिसप्रसाद कुसियतको पनि ज्योति विकास बैंकमा ६३ लाख र विजेन्द्र श्रेष्ठलाई १० लाख रुपैयाँ ऋण तिर्न बाँकी देखिएको थियो। मन्त्री कुसियतले यो वर्ष पेस गरेको विवरणमा विजेन्द्र श्रेष्ठको १० लाख ऋण चुक्ता गरेको र ज्योति विकास बैंकको पनि ४५ लाख चुक्ता गरी अब १८ लाख ऋण बााकी रहेको विवरण पेस गरेका छन्। विवरण अनुसार गएको वर्ष कुसियतले ५५ लाख रुपैयाँ सम्पती थप गरेको देखिएको छ।

    शेयर लगानी र सम्पत्तीको हिसावले गतवर्ष सबैभन्दा धनी देखिएका सामाजिक विकासमन्त्री घिमिरे यो वर्ष पनि अगाडि देखिएका छन्। उनको विभिन्न स्कुल, हाइड्रो, कृषि फार्म लगायतमा १ करोड ३४ लाख २० हजार बराबरको शेयर, १२ तोला सुन, २० तोला चाँदी रहेको सम्पत्ती विवरणमा उल्लेख छ। मन्त्री घिमिरेको बैंक मौज्दात रक मभने घटेको पाइएको छ। गतवर्ष ६ लाख नगद बैंक जम्मा, ५ लाख नगद रहेको विवरण पेस गरेका मन्त्री घिमिरेले यो वर्ष पेस गरेको विवरणमा २२ हजार रुपैयाँ मात्र बैंक मौज्दात रकम रहेको उल्लेख गरिएको छ।

    गत वर्ष एउटा मारुती कार, एउटा स्कुटर र एउटा मोटरसाइकल, विराटनगर–११ मा १ कठ्ठा जग्गामा बनेको घर, कटहरी ४ मा ३३८६ वर्गमिटर जमिन, विराटनगर–११ मा ३४५ वर्गमिटर जग्गा र श्रीमती विमला घिमिरेको नाममा केराबारी २ मा १६ रोपनी जग्गा रहेको विवरण पेस गरेका मन्त्रीले यो वर्ष पेस गरेको विवरणमा मारुतीकार भने उल्लेख छैन।

    गत वर्ष पनि ऋणको भारी नबोकेका प्रदेशका मुख्यमन्त्री शेरधन राईको विवरणमा यो वर्ष पनि खासै फरक छैन। उनीसंग कृषि विकास बैंक, हाइड्रो र स्कुलमा १२ लाख २४ हजार बराबरको शेयर रहेको छ भने विभिन्न व्यक्तिलाई ४ लाख ५० हजार ऋण दिएको सम्पत्ती विवरणमा उल्लेख छ। राईसँग टोयटा कम्पनीको जिप १ थान, १५ तोला सुन, ३० तोला चाँदी रहेको छ। गतवर्ष विभिन्न बैंकमा १० लाख ४७ हजार नगद रहेकोमा यो वर्ष पेस गरिएको विवरणमा १४ लाख ५० हजार नगद मौज्दात रहेको उल्लेख छ।

    मुख्यमन्त्रीको यसैगरी भोजपुरको आमचोक ३ मा ९ हेक्टर ८ रोपनी जग्गा र पैत्रीक घर, ७० रोपनी जग्गा र इटहरी ५ मा ८ धुर जग्गा रहेको विवरणमा उल्लेख छ।

    प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले श्रीमती र आफ्ना नाममा स्कुल, अस्पताल र हाउजिङमा ३२ लाख ८८ हजार बराबरको शेयर राखेका छन्। उनीसँग २२ लाखमा खरिद गरेको सेन्ट्रो कार, ६ तोला सुन, १० तोला चाँदी र श्रीमती अन्जना पाण्डेको नाममा लुम्बिनी बैंकमा ३५ लाख नगद मौज्दात रहेको उल्लेख छ। यसैगरी दाजु दिपक कार्कीसँगको साझेदारीमा गौरादह १ मा डेढ कठ्ठा जग्गा रहेको विवरण मन्त्री कार्कीले बुझाएका छन्। मन्त्री कार्कीले यही वर्ष ललितपुरको महालक्ष्मी नगरपालिकामा घर किनेको बताइएको छ। तर, सम्पत्ति विवरणमा भने घरबारे उल्लेख छैन।

    पाँचथरको फिदिम ११ मा सगोलको ५ रोपनी जग्गामा बनेको घर, ५० रोपनी जग्गा, श्रीमती कुमारी लावतीको नाममा झापाको विर्तामोड र कमलमा ६० लाख रुपैयाँमा खरिद गरेको ३ कठ्ठा जग्गा, इलामको चुलाचुलीमा मिक्लाजुङ कृषि फारमको नाममा रहेको २ विगाहा जग्गा रहेको आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले पेश गरेको विवरणमा उल्लेख छ। विभिन्न बैंकमा उनको र श्रीमतीको नाममा ६ लाख बराबरको रकम मौज्दात रहेको र १० तोला सुन तथा २० तोला चाँदी रहेको सम्पत्ती विवरणमा उल्लेख छ। यसैगरी उनको पालुङ खोला हाइड्रो पावरमा १० प्रतिशत शेयर र ३० लाखको लगानीमा संचालन गरेको फेन्सी पसलसमेत यथावत रहेको छ।

    सुनसरीको कोशी गाउँपालिका –५ मा २ कठ्ठा जग्गामा बनेको घर र ७ विगाहा जग्गा, काठमाडौंमा ७५ लाखमा किनेको जग्गा रहेको विवरण पर्यटनमन्त्री कुसियतले पेश गरेका छन्। मन्त्री कुसियतले गत वर्ष पेस गरेको विवरणमा विभिन्न बैंकमा २ लाख १२ हजार मौज्दात रहेको उल्लेख गरएको थियो। यो वर्षको विवरणमा ३७ लाख ६२ हजार मौज्दात रहेको उल्लेख गरिएको छ। २९ लाख रुपैयाँमा खरिद गरेको टाटा कारसहित उनीसँग ४० वटा पशुचौपाया रहेको विवरण कुसियतले यो वर्षपनि बुझाएका छन्।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार