२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेकपा र राजपाबीच दुई बुँदे सहमति


२०८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २, बुधबार मा प्रकाशित ४ साल अघि
  • २ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने भएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ अन्तर्गतका सिटको बाँडफाँट भएको हो । राष्ट्रियसभामा प्रदेश २ का ८ मध्ये चार सिट २० फागुनबाट खाली हुँदैछ । उक्त पदमा ९ माघमा निर्वाचन हुनेछ ।

    खाली हुने चारमध्ये दुुई दुई सिट लिने सहमति भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । सहमतिअनुसार राजपाले अन्य पुरुष र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको सिट लिनेछ भने नेकपाले महिला र दलित पुरुष लिनेछ । यो सहमतिसँगै दुबैको जित पक्काजस्तै बनेको छ ।

    यसले नेकपालाई एक सिट लाभ हुनेछ । किनकी अहिले खाली हुन लागेको चारमध्ये एक सिट मात्र उसको थियो । दुई राजपा र एक सिटमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । राजपाले दुई सिट जोगाउँदा कांग्रेसले गुमाएको छ ।

    दुई दलबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल गर्ने र सहकार्य अघि बढाउने सहमति पनि भएको छ । सहमतिपत्रमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार