धुलिखेल  काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा न. ८ मा एकै रातमा वडा कार्यालय र स्वास्थ्य चौकी सहित ९ घरमा चोरी भएको छ । शनिबार पौवा देखि टारसम्माका ७ वटा घर, वडा कार्यालय र स्वास्थ्य चौकीमा चोरी भएको हो ।
करिब २ लाख नगद र गहना चोरी भएको पिडित रमेश खरेलले तेमाल अनलाईनलाई बताए । चोरले वडा कार्यालयको ताला फोरेर नगद २५ हजार रुपैयाँ चोरी गरेको छ भने स्वास्थ्य चौकीको मुख्य गेटको तालामात्रै फोरिएको खरेलले जानकारी दिए ।
खरेलका अनुसार चोरी गर्ने समुहले महिला स्वास्थ्य स्वयम सेविका दुर्गा उप्रेतीको घरबाट २६ हजार रुपैयाँ नगद, सोभा तामाङको घरबाट ३५ हजार रुपैयाँ चोरी गरेका छन् । ‘मेरो घरबाट नगर र गहना गरी ७० हजार रुपैयाँ बराबरको चोरी भएको छ ।’ उनले भने ।
त्यस्तै सुब्बा खत्रीको पसलबाट नगद २६ हजार, हबेलीका आइतराम तामाङको किराना पसलबाट ३५ हजार नगद चोरी भएको छ भने स्थानीय मेजर लामाको मासु र किराना पसलबाट १८ सय चोरी भएको उनले जानकारी दिए । उनका अनुसार पौवाका माइला तामाङको पसलबाट भने केही खाद्यसामग्री चोरी भएको छ ।
प्रहरीले भने करिब ४०।४५ हजार नगद चोरी भएको बताइएको छ । ‘सबै हिसाव गर्दा करिब ४०।४५ हजार नगद चोरी भएको देखिन्छ । गरगहना लगेको देखिदैन, नगद मात्र लगेको देखिन्छ ।’ दोलालघाट प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक विमल ढुंगेलले तेमाल अनलाईनसँग भने, ‘जुन घरमा मान्छे छैनन् त्यहाँ चोरी भएको पाइएको छ । खोजी कार्य जारी छ । म रात भरि सुतेको छैन । अहिले पनि फिल्डमै छु ।’
चोरी भएको थाहा पाएपछि बिहान ३ बजे दोलालघाट प्रहरी चौकीबाट प्रहरी त्यस गाउँमा पुगेका थिए । प्रहरी सहागक निरिक्षक ढुंगेलका अनुसार अहिलेसम्म कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छैन ।