२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

रहस्यमय मृत्युको संख्या ११ पुग्यो


१८०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २०, शनिबार मा प्रकाशित ४ साल अघि
  • २० वैशाख, महोत्तरी । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको संख्या ११ पुगेको छ । शनिबार बर्दिवास-१२ स्थित इँटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतीलाल प्रजापति र भङ्गाहा-६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    बर्दिवास-१२ मेघरोल र भङ्गाहा-७ मेघनाथ गोरहन्नामा गत मंगलबारयता शुक्रबारसम्म आठजनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा बर्दिवास-१२ का चार, भङ्गाहा-७ का छ र भङ्गाहा-६ का एक रहेका सो कार्यालयले जनाएको छ ती तीनै वडाका बस्ती एकअर्कासँग जोडिएका छन्।

    भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले घरेलु मदिराको सेवनले ती स्थानीयको मृत्यु हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले मृत्युको कारण शव परीक्षण जाँचले निर्क्यौल गर्ने जानकारी दिए ।

    स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट शनिबार डा. अमृत पोखरेल र विश्व स्वास्थ्य सङ्गठनका डा. सुदीपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली यो बस्तीमा पुगेको छ । टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको डा‍. पोखरेलले बताए ।

    मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव (सिताई) महराको शव परीक्षण गरिएको छ । परीक्षण रिपोर्ट आएपछि मृत्युको कारणबारे यकिन हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

    यसैबीच, जिल्ला प्रहरी कार्यालयले मृतकमध्ये दुईको कोभिड–१९ संक्रमण हो या होइन यकिन गर्न स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि प्रयोगशाला पठाइएको जनाएको छ । ‘मृतकको आरडीटी जाँच परिणाम नेगेटिभ आएको छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘अब पीसीआर जाँचको र परीक्षण रिपोर्ट आएपछि यकिन हुनेछ।’

    थारु, मुसहर, चमार, बाँतर (सर्दार) सहितका जनजाति र दलित समुदायको सघन बसोबास रहेका ती बस्तीमा रहेको छ। मेघनाथ गोरहन्नामा एक साता पहिलेमात्र सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्तीले १६ हजार लिटरभन्दा बढी मदिरा बनाउने कच्चा पदार्थ र चारवटा भट्टी नष्ट गरेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार