२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोनाबाट जोगिन खानपानमा ध्यान दिन डब्लुएचओको सुझाव


२४२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २८, आईतबार मा प्रकाशित ४ साल अघि
  • २८ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अहिले धेरै कुराहरू परिवर्तन भइरहेका छन् । काम गर्ने तरिका, सरसफाइदेखि खानपानको तरिका परिवर्तन भएका कुराहरूको सूचीमा समावेश छन् ।

    मानिसको प्राथमिकतामा स्वास्थ्य र विशेषगरी खानपान र स्वच्छताको मुद्दा अचानक माथि आएको छ । यसअघि यो कुरा प्राथमिकतामा थिएन भन्ने होइन । तर, यसअघि खानपान र स्वच्छता हाम्रो जीवनशैलीको यस्तो कुरा थियो, जसलाई आ–आफ्नो रुचिको रुपमा हेरिन्थ्यो ।

    अहिले मानिसहरू के कोरोना भाइरस खानपानको कारण पनि फैलिन्छ ? भन्ने कुराले चिन्तित बनेका छन् ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले खानपानका लागि आवश्यक पाँच जरुरी टिप्स दिएको छ ।

    १. सधैं स्वच्छ रहनुहोस्

    – खाना बनाउनुभन्दा पहिला र खाना बनाउँदै गर्दा हात धोइरहनु जरुरी हुन्छ ।

    – शौचालय गएपछि हात धुनु जरुरी हुन्छ ।

    – भान्सा, चुलो र भाँडा राम्रोसँग धुनुहोस् र स्यानिटाइज्ड गर्नुहोस् ।

    – भान्सालाई कीरा तथा अन्य जनावरबाट मुक्त राख्नुहोस् ।

    यो किन आवश्यक छ ?

    धेरैजसो सूक्ष्म जीवाणुले रोग फैलाउँदैनन् । तर, यिनीहरूमा केही यस्ता जीव पनि हुन्छन्, जुन माटो, पानी, जनावर र मानिसमा व्यापकरुपमा पाइन्छ । यस्ता सूक्ष्म जीव हाम्रो हात, सरसफाइमा प्रयोग हुने कपडा, भाँडा, काटिङ बोर्डमा पनि हुन सक्छन् ।

    खानेकुरासँग यस्ता जीवको सम्पर्क भयो भने खानपानबाट हुने रोगहरू फैलिने खतरा बढी हुन्छ ।

    २. काँचो खानेकुरालाई पाकेकोसँग नराख्नुहोस्

    – कुखुराको मासु, अण्डा, काँचो मासु र समुद्रका जीवजन्तुको मासुजस्ता खानेकुरालाई छुट्टै राख्नुहोस् ।

    – काँचो खानेकुरालाई चलाउने चक्कु, कटिङ बोर्डजस्ता भाँडा छुट्टै प्रयोग गर्नुहोस् ।

    – काँचो खानेकुरा र पाकेको खानामा कुनै किसिमको सम्पर्क नहोस् भन्नेमा ध्यान दिनुहोस् ।

    यो किन आवश्यक छ ?

    काँचो खानेकुरा विशेषगरी मासु, अण्डा र समुद्री जनावरको मासुमा यस्ता खतरानक सूक्ष्म जीव हुन सक्छन्, जुन पकाउँदा अन्य खानेकुरालाई संक्रमित गर्न सक्छन् ।

    ३. खानेकुरा राम्रोसँग पकाउनुहोस्

    – विशेषगरी मासु, कुखुरा, अण्डा र समुद्री जीवको मासु राम्रोसँग पकाउनु जरुरी हुन्छ ।

    – सुप र झोल पदार्थ उमाल्दा तापक्रम कम्तीमा ७० डिग्री सेल्यिससम्म पुगेको सुनिश्चित गर्नुहोस् ।

    – पाकिसकेको खानालाई राम्रोसँग फेरि तताउनुहोस् ।

    यो किन आवश्यक छ ?

    राम्रोसँग खाना पकाउँदा सूक्ष्मजीवहरू पूर्णरुपमा नष्ट हुन्छन् । अनुसन्धानको क्रममा ७० डिग्रीसम्म खाना पकाउँदा यो खान लायक हुने गरेको पाइएको छ ।

    ४. खानेकुरालाई सुरक्षित तापक्रममा राख्नुहोस्

    – पाकेको खानेकुरालाई कोठाको सामान्य तापक्रममा दुईघण्टाभन्दा लामो समय नराख्नुहोस् ।

    –तयार भएको र छिटै बिग्रिने खानेकुरालाई पाँच डिग्रीभन्दा कम तापक्रममा फ्रिजमा राख्नुहोस् ।

    – फ्रिजमा पनि खाना लामो समयका लागि स्टोर नगर्नुहोस् ।

    – जमेका चीजहरूलाई सामान्य तापक्रममा कोठामा पग्लिन नदिनुहोस् ।

    यो किन आवश्यक छ ?

    पकाएको खानालाई सामान्य तापक्रममा कोठामा राख्दा सूक्ष्मजीवको छिटै विकसित हुन सक्छन् । पाँच डिग्रीभन्दा कम वा ६० डिग्रीभन्दा बढी तापक्रममा सूक्ष्म जीवको विकास रोकिन्छ वा सुस्त हुन्छ । यद्यपि केही खतरानक सूक्ष्मजीव पाँच डिग्रीभन्दा पनि विकसित हुन्छन् ।

    ५. सफा पानी र स्वच्छ भोजन सामग्री

    – स्वच्छ पानीको प्रयोग गर्नुहोस् र यो उपलब्ध नभए सुरक्षित र प्रयोग गर्न सकिने किसिमले सफा गर्नुहोस् ।

    – ताजा र पौष्टिक खाद्य सामग्रीको प्रयोग गर्नुहोस् ।

    – सुरक्षितरुपमा तयार पारिएको खाना रोज्नुहोस् ।

    – फलफूल तथा तरकारीलाई अनिवार्यरुपमा पखाल्नुहोस् ।

    – म्याद गुज्रिएका खानेकुरा नखानुहोस् ।

    यो किन आवश्यक छ ?

    पानी र बरफमा केही सूक्ष्म जीव वा हानिकारक तत्व हुन सक्छन् । खराब र विषालु खानामा विषाक्त रसायन हुन सक्छन् ।

    स्रोत : बीबीसी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार