२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रे धुलिखेलमा पनि कोरोना संक्रमित भेटिएसंगै २१९ पुग्यो


१९४६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ३१, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१९ पुगेको छ । बुधबार धुलिखेलस्थित धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एक जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै काठमाडौैंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका एक जनामा पनि संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बाँके जिल्ला नेपालगन्ज-८ का ३६ वर्षीय पुरुष तथा कपिलवस्तु-५ का २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    धुलिखेलस्थित धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एकजनाको रिपोर्ट पोजिटिभ आएको हो । स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ जनस्वास्थ्य अधिकारी डा. नरेन्द्र झाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले काभ्रेमा पनि नमुनाहरु परीक्षणका लागि पठाउने गरेको छ । उनकाे अनुसार हालसम्म काभ्रेमा १२ सय १७ वटा पीसीआर परीक्षण गरिएकामा ६५ नमुना मात्रै काभ्रे जिल्लाको रहेको छ भने बाँकी राष्ट्रिय प्रयोगशालाले नै पठाएका स्याम्पलहरु हुन् ।

    हालसम्म पर्सामा ८२, उदयपुरमा ३२, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा ६, कैलालीमा ४, रौतहट र बारामा ३/३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया र कञ्चनपुर र काभ्रेमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

    संक्रमण पुष्टि भएकामध्ये ३४ जना निको भएका छन् । तर, नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन: भर्ना गरिएको छ । त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुन: अस्पताल भर्ना गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार