२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोना भाईरस कहिल्यै निको नहुन सक्छ -डब्लुएचओ


२१६२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १, बिहिबार मा प्रकाशित ४ साल अघि
  • विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ‘कहिल्यै समाप्त नहुने’ सम्भावना रहेको चेतावनी दिएको छ । विज्ञहरुले कोरोना महामारीका कारण वैश्विक मानसिक संकट उत्पन्न भइरहेको जनाइरहँदा डब्लूएचओले कोरोना कहिल्यै निर्मूल नहुने सम्भावना रहेको बताएको हो ।

    बुधबार जेनेभामा भएको भर्चुअल पत्रकार सम्मेलनमा डब्लूएचओका आपत्कालीन विभागका प्रमुख डा. माइकल ऱ्यानले कोरोना भाइरस कहिलेसम्म रहन्छ भनेर आधारहीन भविष्यवाणी नगर्न पनि चेतावनी दिएका छन् । उनले कोरोना भाइरसको अवधि तोकेर बस्नुभन्दा पनि यसको नियन्त्रण र रोकथाममा बृहत् प्रयास गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘यो विषयमा चर्चा आवश्यक छ कि कोरोना भाइरस हामीबीच क्षेत्रविशेषको भाइरस बनेर बस्ने सम्भावना रहेको छ । र, यो कहिल्यै निर्मूल नहुन पनि सक्छ,’ डाक्टर ऱ्यानले भने, ‘यसमा कुनै वाचा र मिति छैन । यो रोग दीर्घकालीन समस्या हुन सक्छ वा नहुन पनि सक्छ ।’

    डाक्टर ऱ्यानले एचआईभी भाइरस पनि समाप्त नभएको उदाहरण दिँदै कोरोना भाइरसका बारेमा मिति तोक्ने काम र वाचा नगर्न पनि सबैलाई सुझाव दिएका छन् । उनका अनुसार बिनाभ्याक्सिन आम सर्वसाधारणलाई रोगप्रतिरोधात्मक क्षमताको उपयुक्त स्तर हासिल गर्न वर्षौं लाग्न सक्नेछ । कोरोना भाइरसको भ्याक्सिन बनाउनका लागि विभिन्न देशले सयौं प्रयास गरे पनि विज्ञहरुका अनुसार तत्काल कुनै भ्याक्सिन तयार हुने लक्षण देखिएको छैन । कोरोनाविरुद्ध कुनै उपचार पद्धति विकास नहुँदै विश्वका कयौं देशले लकडाउन खुकुलो बनाएका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. ट्रेडोस एडहानोम गेहब्रेयससले लकडाउन खुकुलो गर्दै जाने हो भने अझ तीव्र रूपमा संक्रमण फैलिने बताएका छन् । डा. ट्रेडोसले भने, ‘कतिपय देशले लकडाउनबाट बाहिर आउनका लागि विभिन्न तरिका अपनाएका छन् । विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशलाई अलर्ट रहन सल्लाह दिइरहेको छ । प्रत्येक देशले अहिले पनि उच्चतम स्तरमा सतर्क रहन आवश्यक छ ।’

    डा. ऱ्यानले पनि कैयौं देशले लकडाउन खोलेर ‘जादुयी’ पाराले कोरोना भाइरसको संक्रमण रोक्न सकिन्छ भनेर सोचेको बताएका छन् । विश्वकै जनजीवन सामान्य हुन लामो समय लाग्ने पनि डा. ऱ्यानले बताए । उनले भने, ‘हामीले वास्तविक अवस्थालाई हेरेर सोच्नुपर्छ । मलाई लाग्छ, अहिले कोरोना भाइरस कहिलेसम्म रहन्छ भनेर कसैले पनि भन्न सक्दैन । यसको निदानको प्रक्रिया लामो हुन सक्छ ।’

    त्यस्तै डब्लूएचओकी संक्रामक रोग विशेषज्ञ मारिया भेन केरखोवेले पनि कोरोना महामारीबाट छुटकारा पाउन लामो समय लाग्न सक्ने बताएकी छिन् । गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण बिहीबार बिहानसम्म विश्वभर २ लाख ९७ हजार २ सय २६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ४३ लाख ४७ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमण पुष्टि भएकामध्ये करिब १५ लाख ५० हजार निको भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार