२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

कतारमा नेपालीलाई मृत्यु दण्ड, शवलाई नेपाल ल्याउन पाईने


४३९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — कतारमा औराही–१, मोहत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको छ । कतारमा पहिलो पटक नेपाली नागरिकलाई मृत्युदण्ड दिइएको हो । कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गर्दै चौधरीलाई मृत्युदण्डको फैसला सुनाइएको थियो ।

     

    तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो । उनलाई माफी दिनको लागि पीडित परिवारले अस्वीकार गरेको थियो । मृत्युदण्डको कार्यान्वयन गर्नु एकदिन अगाडि मात्रै कतारले नेपाली दूतावासलाई जानकारी दिइएको थियो । सूचना पाएलगत्तै दूतावासले परराष्ट्र मन्त्रालयलाई मृत्युदण्डको कार्यान्वयन रोक्नका लागि पत्र पठाएको थियो ।

    चौधरीले कतारी नागरिक अल नुएमीलाई खुकुरी प्रहार गरी हत्या गरिएको अदालतको फैसलामा उल्लेख छ । उनले नुएमीमाथि दर्जनौं पटक खुकुरी प्रहार गरेको उल्लेख छ । हत्या गरेको अभियोगमा उनलाई सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए । अदालतले ‘गोली हानेर’ मृत्यदण्ड दिने फैसला यसअघि अन्य नेपालीको हकमा सुनाइएको थिएन । हालसम्म हत्या अभियोग लागेका नेपालीहरुमध्ये चौधरीविरुद्व आएको आदेश सबैभन्दा कडा हो । अन्य मुद्धामा मृत्युदण्ड पाएका नेपालीलाई भने कार्यान्वयन गरिएको छैन । हत्या प्रकरणको पूर्ण विवरण बाहिर सार्वजनिक गरिएको छैन । उनको शव स्थानीय अस्पतालमा राखिएको छ । उनको शवलाई नेपाल पठाउनको लागि कतारी प्रशासनले अनुमति दिएको छ ।

     

    चौधरी २०१५ अगष्ट २७ गते कतार गएका थिए । उनी कार धुने कम्पनीमा सामान्य मजदुरको हैसियतमा काम गर्थे । उनलाई केन्द्रीय कारगारमा राखिएको थियो । कतारस्थित नेपाली दूतावासले चौधरीको जीवनरक्षाको लागि भन्दै सर्वोच्चमा बहस गर्नको लागि लाग्ने वकिल खर्च (झन्डै ३० हजार रियाल, करिब ६ लाख रुपैयाँ) माग गरेको थियो । उनलाई तल्लो अदालतले डिसेम्बर १२, २०१७ मा मृत्युदण्डको सजाय सुनाएको थियो । त्यसपछि अनिल सर्वोच्च अदालतमा पुनरावेदनका लागि गएका थिए तर सर्वोच्च अदालतले तल्लो अदालतकै फैसलालाई सदर गरिदिएको थियो । अदालतमा बयानका क्रममा अनिलले आफ्नो सुरक्षाका लागि प्रतिकार गर्दा कतारी नागरिकको मृत्यु भएको बताएका थिए । तर अदालतले त्यसलाई हत्या ठहर गर्दै अनिललाई मृत्युदण्डको सजाय सुनाएको हो ।

     

    नेपालीद्वारा कतारी नागरिकको हत्या गरिएको यो नै पहिलो घटना हो । कतारमा नेपालीद्वारा नेपालीकै हत्या अभियोगमा लागेकाहरु भने १० जना जेलमा छन् । पोखराका कौशल कार्कीलाई १० वर्ष जेल र दुई लाख ६० हजार रियाल ब्लडमनी तिनुपर्ने फैसला भइसकेको छ । गणेशकुमार कार्कीलाई आजीवन कारावास र २ लाख ६० हजार रियाल जरिवाना तोकेको छ । कौशलले हत्या स्वीकार गरे पनि गणेशले अझैसम्म अभियोग स्वीकार गरेको छैन । अदालतले सिद्धी नाज र बालकुमार श्रेष्ठलाई पनि आजीवान कारावास र दुई लाख ६० हजार रियाल जरिवाना तोकेको छ । आफ्नै दाइ रामप्रसाद कुमार दनुवारको हत्या अभियोगमा भविलाल कुमार दनुवार पनि जेलमा छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार