२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुग्यो, ४१ बर्षिय शिक्षकको मृत्यु


२७१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको प्रदेश सरकारले जनाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उनको उपचार भइरहेको थियो ।

    अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका उनको अवस्था बुधबारदेखि गम्भीर थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदरर्शन बरालले एक विज्ञप्ति जारी गरी उनको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । ‘क्रिमसन अस्पतालमा उपचाररत शिक्षकको बिहीबार बिहान दुखद् निधन भएको छ । उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकेकोमा निकै दुःखी छौं,’ मन्त्री बरालको विज्ञप्तिमा भनिएको छ । मृतक कङ्गे देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेको उल्लेख गर्दै विज्ञप्तिमा उनको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको बताइएको छ ।

    अस्पतालले बिहान उनको मृत्युको जानकारी परिवारलाई दिएको जनाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले बिरामीको बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको बताए । ‘हामी आगामी प्रोटोकलको तयारीमा जुटेका छौं,’ उनले भने, ‘संघीय सरकारलाई पनि जानकारी गराइसकेका छौं ।’

    गत बैशाख २५ गते सामान्य ज्वरो र त्यसपछि खोकीबाट पीडित उनले स्थानीय मेडिकल, अर्घाखाँची हुँदै क्रिमसन अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । भर्ना भएदेखि उनको शरीरका धेरै अंगले काम गर्न छोडेको (मल्टी अर्गान डाइफङ्सन सिन्ड्रोम) थियो । जेठ १ गते आइसीयूमा भर्ना भएका उनलाई जेठ २ गतेबाट भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

    अवस्था गम्भीर हुँदै गएपछि जेठ २ गते उनको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहाँ गरिएको परीक्षणमा सोमबार उनलाई कोरोना संक्रमण देखिएको थियो । योसँगै नेपालमा कोभिड–१९ संक्रमण तीन जनाको मृत्यु भएको छ । यसअघि सिन्धुपाल्चोककी सुत्केरी र बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार