२०८१ अषाढ ३१, सोमबार | Mon, 15, Jul, 2024

राजा महेन्द्रको निगाह नै आम नेपालीको घाँटीको बिरालो भएको छ, जन–जनमा राष्ट्रियता मौलाएको छ


२३१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १३, मंगलबार मा प्रकाशित ४ साल अघि
  • प्रल्हाद शर्मा हुमागाइ

    सरकारको पछिल्लो कदमको सर्वत्र प्रशंसा चलिरहेको छ । बिहान र साँझ पैदल यात्रा गर्नेहरु हुन् वा सामाजिक सञ्जालमा झुण्डिनेहरु हुन्, सबैको एउटै तर्क सुन्न र पढ्न पाइन्छ, लिपुलेक, कालापानी, लिम्पियाधुराका बारेमा सरकारले राखेको अडानका बारेमा सबै नेपालीले मुक्तकण्ठले स्वागत गरेका छन् ।

    नेपाल सरकारले जुन अडान राख्यो, त्यो इतिहासमा सुनौला अक्षरले लेखेको हेर्ने मन सबै नेपालीको छ । सरकारले भन्छ भने हामी विकास निर्माणतर्फको बजेट सिमाना व्यवस्थापनमै लगाउन सहमत हुन्छौं । एक वर्ष मात्र होइन, वर्षाैंको बजेट लागोस् । बरु पानी तताएर खान्छौं, सरकारले त्यो शीर्षकका लागि चन्दा माग्छ भने पनि थैली फुकाएर सघाउन तयार छौं । हाम्रो एउटै चाहना छ, विवादित सीमा सदाका लागि अन्त गरोस् भन्दै स्वरमा स्वर मिलाएर गफ गर्दै हिँडेको सुन्न पाइन्छ । हामीलाई विकासभन्दा भारतीयहरुको दासत्वपूर्ण प्रवृत्ति सह्य छैन । हाम्रा पुर्खाले जीवित राखेको अछुन्न स्वतन्त्रतालाई आँच आउन दिने छैनौं । त्यसका लागि राज्यले माग्छ भने बलिदान दिन पछि पर्ने छैनौं भन्दै यात्रा गरेको दृश्य चर्चा गर्न लायक छ । यसले के देखाउँछ भने नेपाली जनमा राष्ट्रियता कतिसम्म मौलाएको छ भन्नेमा पुष्टि गर्छ । नेपालीहरुको यसरी मौलाएको राष्ट्रवादलाई कुण्ठित गर्ने कार्य नहोस् भन्ने नै हो ।

    तर राजनीतिक विश्लेषकहरुको कथन छ– नेपाली जनको त्यो भावनालाई नेतृत्वले कुण्ठित गर्ने छ नै भनी ठोकुवा गर्छन् । राष्ट्र भावको आँधीबेरी नेपालमा धेरै पटक उर्लियो । जस्तो रितिक रोशन घटनालाई लिन सक्छौं, जतिबेला राष्ट्र प्रमुखहरु निरिह बन्न बाध्य भएका थिए । त्यस्तै २०४६ को भारतको नाकाबन्दीका विरुद्ध नेपाली जनताको अदम्भे साहसपूर्ण प्रस्तुतीले नेपालीहरुको राष्ट्रियता सम्बन्धी अपनत्व मनन गर्न सक्छौं । इतिहासदेखि हेर्दै आउनुस्, राणाकाल, पञ्चायतकाल, बहुदलीय व्यवस्था हुँदै गणतन्त्र आइपुग्दा नेपाली जनताहरुले बगाएको रगतको मूल्य के रह्यो ?

    यि कुनै पनि व्यवस्थामा जनताले के पाए ? पाए त उही आसेपासे लुच्चा, फटाहाको रजाइँ भयो । यो अहिलेको चाहारो ओलिले मोदीलाई हालेको होइन, नेपाली जनतालाई भ्रमित पारेको तथ्य हो । भारतीयहरुले नै स्वयं भनेका छन्, यो राष्ट्रवादको नौटंकी भारततर्फ होइन, सोझा नेपाली जनताको दिमाग भुट्ने काम गरेको हो । आफूलाई राष्ट्रवादीको महानायक बनाउने खेलमा ओलिजीले जुन चाहारो फाल्नुभयो, त्यसमा कति रुमलिए सहजै अड्कल गर्न सक्छौं । अन्यथा त्यो चाहारो पश्चात् दिल्लीमा नेपाली राजदूतलाई सिल्ली बनाउँदा किन बोल्नसक्नु भएन ओलिजी ? यो देखावटी राष्ट्रवादभित्र गोहीको आँसु हो भन्दा फरक पर्दैन भन्छन् राजनीतिक विश्लेषक ।

    नेपाली जनताको अपार सद्भाव र सहयोग एकातिर छ, अर्काेतर्फ मुलुकमा यो सवाललाई लिएर राजनीतिक विपक्ष भन्ने नै छैन । मुलुक जुरुक्कै उठेको राष्ट्रियताको सवाललाई लिएर तर पनि नेताहरुको द्वयत्त चरित्रका कारण प्रश्नहरु खडा भएका छन् । यो अवसरलाई उपयोग गर्न अग्रसर हुनुपर्दैन ? यावत् अनुत्तरित प्रश्नहरुको खात लागेको छ । बजारमा चर्चा छ, कमल थापा जस्तालाई परराष्ट्र मन्त्री बनाएर पानीमाथिको ओभानो बन्ने चलखेल सुरु भइसकेको जानकारहरु बताउँछन् । नेपाली जनमा अझै पनि नेतृत्वप्रति पूर्ण विश्वास र उर्जा छ, जानकारहरुले सरकारको अभिव्यक्तिप्रति विश्वास गरेर भावी दिनमा पछुताउनुपर्ने स्थितिको सिकार नहुनुस् भनेका छन् ।

    आज जुन माहोल सिर्जना भएको छ, त्यसका बारेमा नेतृत्वले गम्भीर ध्यान दिन जरुरी छ । यो उर्जालाई नगदमा किन्न जरुरी छ । यदि यो अवसरबाट सरकार चुक्यो भने कालान्तरमा कहिल्यै नमेटिने कालो दागको सिकार हुनेछ । भारतीय केही मिडियाहरुलाई छोडेर समग्र भारतीय नेतृत्वको अभिव्यक्तिलाई लिने हेर्ने हो भने पहिलो पटक राजा महेन्द्रको निगाहको कारण यो स्थिति सिर्जना भएको बताउँछन् । यदि राजा महेन्द्रले “दक्षिण रिसाएको छ, छोडिदेउ” नभनेको भए आज यो अवस्था आउने थिएन । आफ्नै भूमीका बारेमा आफैंले दुश्मनी अँगाल्नुपर्ने अवस्था आउँदैन थियो । राजा महेन्द्रको यो भुल आज नेपालीका लागि अभिशाप भएको छ । यति हुँदाहुँदै पनि राजतन्त्रको दुवाई दिनेहरु छाती फुकाएर त्यही राजतन्त्रको गुनगान गाउनुको पछाडि केही रहस्य अवश्य लुकेको हुनुपर्छ । यो आम पाठकहरुको खोजीको विषय हुनसक्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार