२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पहिरोका कारण २५ जनाले ज्यान गुमाए


५८२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २०, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — यस वर्ष मनसुन सुरु भएयता पहिरो मात्रै ५२ ठाउँमा खसेको छ, जसमा २५ जनाले ज्यान गुमाएका छन् । मनसुन सुरु नहुँदै पर्वतको कुस्मा नगरपालिकाको दुर्लुङमा मानवबस्ती मास्तिर जंगलबाट ठूलो पहिरो खसेको थियो, त्यसमा परेर ९ जनाले ज्यान गुमाएका थिए ।गुल्मीको इस्मा गाउँपालिका–१, मल्दी गाउँमा बिहीबार राति खसेको पहिरोले क्षति पुर्‍याएको वसन्त सारूको घर । पहिरोमा पुरिएर सारूका १६ महिने छोरासहित दुई जनाको मृत्यु भएको छ ।

    करिब २ किलोमिटर लामो पहिरोका कारण ४५ मध्ये ७ घर अझै उच्च जोखिममा छन् । मनसुन सुरु भएको एक साताभित्रै पाल्पा–गुल्मी सडकखण्डमा पहिरो जाँदा ४ जनाको ज्यान गएको थियो । त्यहाँ ४ वटा सवारीसाधन पहिरोमा परेका थिए । बिहीबार राति मात्रै गुल्मीको इस्मामा खसेको पहिरोमा परी दुई बालकको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

    यस अवधिमा देशभर भएका प्राकृतिक प्रकोपका २ सय २१ घटनामा ४६ जनाको मृत्यु भएको छ । बाढीका ७ वटा घटना भए पनि मानवीय क्षति भएको छैन । मनसुन अवधिमा मध्य र उच्च पहाडी जिल्लामा पहिरो र तराईका २२ जिल्लामा बाढीले समस्या निम्त्याउने गरेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार ११ वर्षयता (२०६७ देखि) यही अवधिमा भएकाभन्दा यसपटक बाढीपहिरोका घटना बढी भएका छन् । पहिरो मुख्य विपद्का रूपमा देखापरेको छ । मनसुनको सुरुवाती दिनमा ११ वर्षमा पहिरोबाट ९७ र बाढीबाट ८४ जनाको ज्यान गएको छ । सबैभन्दा बढी २०७० सालमा बाढीबाट ५२ जनाको ज्यान गएको थियो भने पहिरोमा परी ३० जनाको मृत्यु भएको थियो ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष मनसुनअघि नै पर्याप्त वर्षा भएको थियो । जसका कारण जमिन मज्जाले गल्न पुग्यो । दक्षिण एसियाका मौसमविद्हरूले यो वर्षको मनसुनमा औसत आसपास वर्षा हुने प्रक्षेपण गरेका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल मनसुन अवधिमा कतै कम र कतै अत्यधिक वर्षा हुने भएकाले पहिरोका घटना बढ्ने अनुमान गर्छन् । प्राधिकरणले यो वर्ष पनि २०७० सालमा जस्तै बाढी र पहिरोका घटना बढ्ने अनुमान गरेको छ ।

    ‘पर्वतमा जस्तो एकै स्थानमा धेरै वर्षा केन्द्रित भयो भने पहिरोको सम्भावना बढी हुन्छ,’ यस वर्षको मनसुन र विपद्का घटनाबारे विश्लेषण गर्दै पोखरेलले भने, ‘त्यसैले प्रतिरक्षाका लागि विभिन्न निकायसँग सहकार्य गरिरहेका छौं ।’ पर्वतमा लगातार २ घण्टा परेको वर्षाले हरियो र बाक्लो वन भएको क्षेत्रमै पहिरो गएको थियो । उक्त पहिरोबारे विशेषज्ञहरूले विस्तृत अध्ययन गरिरहेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार