२०८१ कार्तिक २४, शनिबार | Sat, 09, Nov, 2024

कोरोना संक्रमितको घरघरमा अक्सिजन पुर्याउंदै मेयर


२३७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २२, बुधबार मा प्रकाशित ३ साल अघि
  • २२ वैशाख, विराटनगर । विराटनगर महानगरपालिमा बिहीबारसम्म एक हजार सय ५३ सक्रिय सङ्क्रमित रहेको तथ्याङ्क छ । दैनिक दुई सयको हाराहारीमा संक्रमित थपिइरहेका छन् । तर ती संक्रमित कहाँ र कुन अवस्थामा छन् भन्ने लेखाजोखा स्थानीय सरकारलाई छैन ।

    महामारी उच्च विन्दुमा पुगेपछि पूर्व तयारीमा जुटेको महानगर अल्मलिएको छ । मेयर भीम पराजुली भने होम आइसोलेसनमा रहेका सङ्क्रमितका लागि घर–घर अक्सिजन सिलिण्डर पुर्याउँछन् । तर महानगर भित्रै समन्वय नहुँदा सङ्क्रमितको व्यवस्थापन र कन्ट्याक ट्रेसिङ भएको छैन ।

    ‘हामीले पहिलो जस्तो डाटा राख्न पाएका छैनौं,’ महानगरको कोभिड १९ स्वास्थ्य संयोजक हैदर अली भन्छन्,‘ हामीले जिम्मेवारी पाएपछि काम गरिरहेका छौँ ।’

    महामारीको पहिलो लहरमा अलीले  नै कोभिड व्यवस्थापन हेर्थे । सङ्क्रमित नभेटिएपछि महानगरको दैनिक काममा फर्किए । महामारी उच्च विन्दुमा पुगेपछि विहीबार उनैलाई कोभिड १९ स्वास्थ्य संयोजक बनाइएको छ । ‘मंगलबार ८५० जना संक्रमित थिए,’ उनले भने, ‘सबै संक्रमितको सम्पर्क गर्ने प्रयास गरिरहेका छौं, तर पहिलेको जस्तो व्यवस्थित आइसोलेसन र डाटा छैन ।’

    सङ्क्रमण बढेका कारण महानगरले सोमबारबाट मात्रै विराटनगर १, ७ र १५ नम्बर वडामा स्वाब संकलन सुरु गरेको छ । सङ्क्रमणको पहिलो लहरमा व्यवस्थित क्वारेन्टाइन, आइसोलेसन र होम आइसोलेसनमा भएका संक्रमितलाई औषधि वितरण गरेको महानगर दोस्रो लहर नियन्त्रण बाहिर पुग्दा अलमलमा छ ।

    ‘पहिले जस्तो आइसोलेसन क्वारेन्टाइन बनाएर सञ्चालन गर्न सक्ने अवस्था छैन,’ स्वास्थ्य संयोजक रमेश कार्की भन्छन्, ‘नाकामा स्वास्थ्य जाँच हुन्छ, १९ बेडको आइसोलेसन भर्खरै सुरु भयो, संक्रमितलाई सहयोगका लागि सहयोगका लागि एम्बुलेन्स र डाक्टरको परामर्श पनि छ ।’

    उनका अनुसार त्यसबाहेक जनचेतनामुलक सूचना प्रसारण गरिरहेको छ । ‘संक्रमण कम्युनिटी लेभलमा व्यापक भएको छ,’ उनले थपे, ‘अवस्था धेरै जटिल छ ।’

    विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले गम्भिर प्रकृतिका कोरोना सङ्क्रमितका लागि घर–घर अक्सिजन पुर्याउन थालेका छन् । महामारीको समयमा अक्सिजनको राजनीति सुरु गरेको भन्दै उनको आलोचना गर्नेहरु पनि छन् । तर महानगरको स्वास्थ्य महाशाखाबाट गर्नुपर्ने काममा आफैं खटिन उनले छोडेका छैनन् ।

    ‘मेरो गाडीमा अक्सिजन, पीपीईलगायत स्वास्थ्य सामाग्री भइरहन्छ,’ उनले भने, ‘अफ्ठ्यारो पर्याे भन्दै जनताले फोन गर्छन्, आवश्यक परेको अवस्थामा घरसम्म पुर्याइदिन्छु ।’ राति ११ बजे पनि कोरोना सङ्क्रमितलाई अक्सिजन पुर्याउन घरसम्म पुगेको उनले सुनाए ।

    ‘अहिले बजारमा अक्सिजन अभाव छ, सिलिण्डर खोजेर भर्दै पुर्याउँछु,’ उनले भने, ‘स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टिमले काम गरिरहेको छ, फोन गरेको ठाउँमा म पुग्छु ।’

    कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था बुझेर मात्रै अक्सिजन दिइने गरेको उनले बताए । ‘स्वास्थ्यकर्मीको टिमले अक्सिजन लेभलको जाँच गर्छ,’ उनले भने, ‘हामीसँगै हुने स्वास्थ्यकर्मीले अक्सिजन जोडिदिन्छन् ।’ कोरोना अवधीभर आफू खटिने उनले बताए ।

    ‘संक्रमितको घरसम्म पुग्दा मलाई जोखिम हुन्छ, तर पनि जान्छ,’ उनले भने, ‘आवश्यक सतर्कता पनि अपनाएको छु ।’ मेयर पराजुलीले ३५ भन्दा बढी परिवारलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार