२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

पाँचखालमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणका लागि बजेट


१४७६२ पाठक संख्या
पाँचखालमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणका लागि बजेट
  • नवसंकेत अनलाईन
  • २०७८ जेष्ठ १५, शनिबार मा प्रकाशित २ साल अघि
  • अशोक कुइकेल

    आर्थिक वर्ष २०७८ /२०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा निर्माण हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई रु एक अर्ब ५५ करोड बजेट बजेट विनियोजन गरिएको जनाउनुभएको छ  ।

    आगामी आर्थिक वर्षको लागि भौतिक तथा पूर्वाधार निर्माणको प्रक्रिया पनि अगाडी बढिसकेको अर्थमन्त्री पौडेलले जनाउनुभएको हो ।

    विश्वविद्यालय निर्माणका लागि आवश्यक जमिनमध्ये पाँचखालसहित नमोबुद्ध नगरको पनि केही वडा समेटिएको छ । विश्वविद्यालयका लागि आवश्यक देखिएको करीब दश हजार तीन सय रोपनी सार्वजनिक जग्गा अधिग्रहणको काम सकिएको जिल्ला मालपोत कार्यालय धूलिखेलले जनाएको छ ।

    कार्यालयका अनुसार पाँचखाल नगरको वडा नं. ७, १० र १२ तथा नमोबुद्धको २ र ३ नं.वडाको दश हजार तीन सय रोपनी सार्वजनिक जमिन हालै विश्वविद्यालयको पूर्वाधार विकास समितिका नाममा दाखिल खारेज (हस्तान्तरण)को नामसारी भइसकेको छ ।

    उक्त विश्वविद्यालय पूर्वाधार निर्माण समिति गठन आदेशानुसार २०७६ असार ९ गते राजपत्रमा प्रकाशित भएको थियो । सोहीअनुसार २०७६ मङसिर २३ गते विकास समितिका नाममा जग्गा पास गरिदिने निर्णय सरकारले गरेको थियो । विश्वविद्यालयका लागि उपयुक्त जग्गा खोज्ने क्रममा पाँचखाल र नमाबुद्ध नपाको सिमामा अवस्थित जग्गा उपयुक्त देखिएपछि सरकारले विश्वविद्यालयको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकमा रहनेगरी जिल्ला मालपोत कार्यालयलाई जग्गा व्यवस्थापन प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो ।

    उक्त विश्वविद्यालय निर्माणार्थ चिनियाँ सरकारले पनि सहयोग गर्न इच्छुक देखाएको छ । छिमेकी चीनका राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका क्रममा नेपाल सरकारको नीति, कार्यक्रम तथा बजेट अध्ययनपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणार्थ सम्झौतासमेत भएको थियो । विश्वविद्यालय सञ्चालनपछि विज्ञान तथा प्रविधिका क्षेत्रमा नेपालबाट जनशक्ति पलायन हुने क्रम न्यूनीकरण हुदै जाने अपेक्षा गरिएको छ ।

    विश्वविद्यालयबाट विज्ञान तथा प्रविधिमा उच्चस्तरको अनुसन्धान गरी विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्ने सरकारी योजना रहेको छ । अन्तरराष्ट्रिय विश्वविद्यालयका रुपमा स्थापित गर्न यो विश्वविद्यालय निर्माण गर्न लागिएको निवर्तमान सांसद एवं नेकपा (एमाले)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले बताउनुभयो । उहाँका अनुसार सार्वजनिक जमिन विश्वविद्यालयको नाममा हस्तान्तरण भइसकेकाले अबको बजेटबाट निर्माण प्रक्रियाको थालनी गरिनेछ । उहाँका अनुसार पाँचखालमा निर्माण हुन लागको पूर्वाधार उक्त विश्वविद्यालयको केन्द्रीय कार्यालय हुनेछ ।

    मन्त्रिपरिषद्को २०७५ माघ २१ गतेको बैठकद्वारा गठित विश्वविद्यालय पूर्वाधार तयारी समितिले विश्वविद्यालय निर्माणको सम्पूर्ण प्रशासनिक जिम्मेवारी लिएको छ । हाल उक्त विश्वविद्यालयका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)सँगै ‘माष्टर–प्लान’ तयार भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार