२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

एमाले महाधिवेशनमा १,५३६ प्रतिनिधि सहभागी हुने


२८०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक ११, बिहिबार मा प्रकाशित २ साल अघि
  • ११ कात्तिक, काठमाडौं । नेकपा एमालेको आसन्न १० औं महाधिवेशनमा १,५३६ प्रतिनिधि सहभागी हुने भएका छन् । बिहीबार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको हो ।

    प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार हाल एमालेको पार्टी सदस्य संख्या ७ लाख २१ हजार छ । उनीहरुमध्येबाट १,५३६ प्रतिनिधि १० औं महाधिवेशनमा सहभागी हुनेछन् ।

    भूगोलबाट १,१९६ जना आउने छन् भने केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका निश्चित सदस्य पदेन प्रतिनिधि हुनेछन् ।

    स्थायी कमिटीको निर्णयअनुसार हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १,५०० पार्टी सदस्य बराबर दुई खुला र एक महिला गरी ३ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । त्यसमा थप हुने हरेक एक हजार सदस्य बराबर एक प्रतिनिधि थप हुनेछ ।

    हरेक जिल्लाबाट एकएक जना दलित प्रतिनिधि, हरेक प्रदेशबाट मजदुर प्रतिनिधिहरु चयन हुनेछन् । हरेक जनसंगठनबाट ५/५ जना महाधिवेशन प्रतिनिधि आउने छन् भने केन्द्रीय कार्यालय र विभागहरुबाट दुई खुला र एक महिला गरी ३ जना तथा प्रवासबाट २० जना प्रतिनिधि सहभागी हुनेछन् ।

    प्रवक्ता ज्ञवालीका अनुसार पदेन महाधिवेशन प्रतिनिधि २६२ हुनेछन् भने ५ प्रतिशत मनोनयन गरिनेछ । स्थायी कमिटीको बैठकमा मूल व्यवस्थापन कमिटीका सहसंयोजक सुरेन्द्र पाण्डेले प्रारम्भिक तयारीबारे ब्रिफिङ गरेका थिए । उनका अनुसार महाधिवेशनको उद्घाटन नारायणी नदी किनारमा हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार