२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

निःशुल्क स्वास्थ्य सेवा घरदैलो मै


२२४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक २८, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका जनताले घरदैलोमै विभिन्न रोगको निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । गाउँपालिकाको आयोजनामा पालिकाको ३ स्थानमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेपछि स्थानीयले स्वास्थ्य सेवा पाएका हुन् ।
    जर्मन नेपाल सहयोग संघ र विकासका लागि एकतासँगको सहकार्यमा चावहिल डेन्टल अस्पता र नेपाल नेत्र ज्योति संघको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य जाँच तथा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
    विहिबारबाट वडा नं. २ को स्थित डिसीडब्लुसि अस्पताल नाग्रे गाउँपालिका अध्यक्ष दिननाथ गौतम र उपाध्यक्ष ताराकुमारी चौंलागाईंले संयुक्त रुपमा उद्घाटन गरेर शुरु भएको शिविर शनिबार वडा नं. ६ स्थित देउराली स्वास्थ चौकीमा आएर समापन भएको थियो । उक्त शिविरबाट २ हजार ७८ जना स्थानीयले सेवा लिएका छन ।
    विविरमा सामान्य स्वास्थ्य परिक्षण देखि स्त्रीरोग परिक्षण, दाँत परिक्षण, आँखा परिक्षण, भिडियो एक्सरे, स्वास्थय शिक्षा तथा परामर्श, औषधि वितरण गरिएको थियो । विशेष गरी ग्रामीण क्षेत्रमा रहेका विपन्न, ज्येष्ठ नागरिक, अस्पतालसम्मको पहुँच नभएका स्थानीयहरुले यस शिविरबाट लाभ लिएका छन् ।

    गाउँपालिका अध्यक्ष गौतमले जनताको स्वास्थ्य प्रति आफू र आफ्नो गाउँपालिका सधैं गम्भि रहेको बताएका छन् । संविधानले समेत मौलिक हकको रुपमा उल्लेख गरेको स्वास्थ्यलाई विस्तारै निःशुल्क गर्ने तर्फ आफूहरु लाग्ने बताए । ‘जनताको स्वास्थ्य प्रति हामी गम्भिर छौं । शुरुदेखि नै हामी जिम्मेवार ढंगले अघि बढिरहेका छौं ।’ गौतमले भने, ‘राज्यले संविधानमा उल्लेख भएको मौलिक हकको रुपमा रहेको स्वास्थ्यलाई निःशुल्क गर्नुपर्नेछ । हामी यसको लागि पनि लागिरहेका छौं । हालको लागि जनताको आवश्यकतालाई केन्द्रमा राखेर यो शिविरको आयोजना गरेका हौं ।’
    आगामी दिनहरुमा सबै प्रकारको पूर्वाधार विकार भएपछि निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्यको चरणमा पुग्ने बताउँदै अब त्यो दिन टाढा नभएको जानकारी दिए ।

    यसैबीच गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईंले जनताको घरदैलोमा स्वास्थ्य सेवा दिन निरन्तर प्रयत्नमा रहने बताइन् । अन्य विकासका पूर्वाधार निर्माणको लागि आफ्नो कार्यकाल वितेका बताउँदै उपाध्यक्ष चौंलागाईंले अबको चरणमा शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने बताइन् ।

    निःशुल्क र गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीय खुशी भएका छन् । विपन्न, दलित र ज्येष्ठ नागरिकहरु गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएपछि खुशी भएका हुन् । आर्थिक अवस्था बलियो भएका र शहरमै बसेकाहरुले राम्रो उपचार पाए पनि आफूहरु आर्थिक रुपमा कमजोर र गाउँमै बस्ने भएकोले स्वास्थ्य सेवा लिन नसकेको अवस्थामा गाउँमै सेवा पाएकोले खुशी लागेको वडा नं. ६ का ७६ वर्षिय खड्गराज गिरीले बताए । विगत ३ वर्षदेखि उनी दाँदको समस्याले ग्रसित थिए । आफ्नै गाउँमा सेवा पाएपछि उनी खुशी भएका छन् । ‘३ वर्ष अघिदेखि यो दाँतले दुःख दियो । शहरमा जान गा¥हो छ । न आर्थिक अवस्था राम्रो छ न शहरसम्म जान सक्ने शारिरीक अवस्था छ ।’ गिरिले भने, ‘धेरै राम्रो लाग्यो । खानेकुरा नि सजिलोले खान पाउने भो । गाउँपालिका अध्यक्षज्यूलाई आशिर्वाद र धन्यवाद छ ।’

    त्यसो त सोही वडाका ७६ वर्षिय साइला तामाङ विगत ४ वर्षदेखि आँखाको समस्याबाट ग्रसित थिए । विस्तारै आँखाले देख्न छोड्दै थियो । उनको लागि पनि यो शिविर वरदान नै भएको छ । ‘मेरो आँखाको समस्या भएको ४ वर्ष भयो । दिनदिनै विस्तारै देख्न छोडिसकेको छ ।’ आँखा जचाइसकेपछि तामाङले भने, ‘आँखामा मोतुबिन्दु भएछ । अब अप्रेशन पछि अब राम्रोसँग देख्न पाउने भयो ।’
    स्थानीयले यस्तो प्रकारको शिविर बर्षको कम्तिमा २ पटक आयोजना गर्न गाउँपालिकालाई अनुरोध समेत गरेका छन् ।
    सो शिविरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामा, जनप्रतिनिधिहरु पुगेका थिए ।
    सो क्रममा विकासका लागि एकताकाइन्चार्ज एकराज सापकोटा, कार्यकारी निर्देशक प्रदिप हुमागाई लगायतका सहभागी थिए ।
    वडा नं. २ स्थित डिसीडब्लुसि अस्पतालमा भएको शिविरमा जनरल विरामीहरु महिला १ सय ३५ र पुरुष ८९ गरी २ सय २४, स्त्रीरोग सम्बन्धी विरामीहरु ५७जना, आँखा सम्बन्धी विरामीहरु महिला १ सय ३८ र पुरुष ९४ जना, दाँत सम्बन्धी विरामीहरु महिला ५३ जना र पुरक्ष ६० जना सहित १ सय १३ जना गरी ६ सय २६ जनाले सेवा लिएका छन ।
    त्यसैगरी वडा नं. ५ को जागृति माविमा भएको शिविरबाट जनरल तर्फ महिला १ सय ३ र पुरुष ८८ गरी १ सय ९१ जना, स्त्रीरोग सम्बन्धी विरामी ८३ जना, आँखा सम्बन्धी विरामी महिला १ सय २१ र पुरुष ७५ गरी १९६ जना, दाँत सम्बन्धी विरामीहरु महिला ८४ र पुरुष ५४ गरी १ सय ३८ जना गरी ६ सय १८ जनाले सेवा लिएका छन् ।

    त्यसैगरी वडा नंं ६ स्थित देउराली हेल्थपोष्टमा भएको शिविरबाट जनरल चेकजाँचबाट महिला २ सय १० र पुरुष १ सय १४ गरी ३ सय २४ जना, दाँतसम्बन्धी विरामी महिला १ सय ५ र पुरुष ५१ जना गरी १ सय ५६ जना, आँखा सम्बन्धी विरामी महिला १ सय २३ जना र पुरुष ९३ जना गरी २ सय २२ जना र स्त्रीरोग विरामीहरु १ सय २७ जना गरी ८ सय ३४ जनाले सेवा लिएका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार