२०८० फागुन १०, बिहिबार | Thu, 22, Feb, 2024

जनतालाई उद्यमी बनाउने अभियानमा काभ्रेको पालीका


१८७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर १७, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिकाले स्थानियहरुलार्ई उद्यमी बनाउने अभियान दोस्रो वर्ष पनि सञ्चालनमा ल्याएको छ । गरीबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्गर्तत गाउँपालिकाले यस्तो अभियान थालनी गरेको हो ।
    स्थानीय साधनस्रोतको उपयोग गरी उद्यमी बनाउने अभियान अन्तर्गत बुधबार वडा नं. ९ मा अभिमुखी करण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईंले गाउँपालिकाले शिप सिकाएर जनतालाई उद्यमी बनाउने अभियानमा आफूहरु लागिपरेको बताईन् । स्थानीय साधन स्रोतबाटै आयअर्जन गरेर स्वरोजगार र उद्यमी बनाएर आर्थिक क्रान्तिमा आफूहरु लागिपर्ने बताउँदै उपाध्यक्ष चौंलागाईंले सिकेको शिप व्यवबहारमा लागु गर्न अनुरोध गरिन् । कम्तीमा २ सय जनालाई उद्यमी बनाउने योजना रहेको उनले बताईन् ।

    कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले स्थानीय साधनस्रोत प्रयोग गरेरै उद्यमी बनाउने योजना अनुरुप गाउँपालिकाले यस्तो योजना ल्याएको प्रष्ट पारे । आफूहरुकै अनुकुलतामा स्थानीयको चाहना र माग अनुसारको बस्तु उत्पादनमा लाग्न सहभागीहरुलाई अनुरोध समेत गरे ।

    कार्यक्रममा वडा अध्यक्ष रामबहादुर लामाले आर्थिक रुपमा आत्मनिर्भर बनाउन आफ्नो वडाका किसानहरुलाई यस्तो कार्यक्रममले निक्कै टेवा पुग्नेमा विश्वास व्यक्त गरे । यो योजना अन्तर्गत स्थानीयलाई ३ वर्षभित्रमा उद्यमी बनाउने लक्ष्य रहेको वरिष्ठ उद्यम बिकास सहजकर्ता बीरबहादुर सार्कीले जानकारी दिए ।

    यो कार्यक्रममा गाउँपालिकाको वडा नं. १, २, ४ र ९ मा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । अर्को बर्षबाट बाँकी वडामा पनि यो कार्यक्रम सन्चालन हुनेछ । गतबर्ष गाउँपालिकाले वडा नं. ५ र ३ बाट शुरु गरेको गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईंले जानकारी दिइन् । शुरु गरेको ती २ वडामा यो वर्ष स्तरबृद्धिको गर्ने कार्यक्रम रहेको उपाध्यक्ष चौंलागाईंले बताईन । गतवर्ष वडा नं. ५ मा डलकुशन, अगरबत्ती र बाख्रापालनको लागि २०÷२० जना स्थानीय किसान छनौटमा परेका थिए । त्यस्तै वडा नं. ३ मा बाख्रापालन र वंगुर पालन कार्यक्रम सन्चालन भइरहेको छ । यहाँ पनि सोही संख्यामा स्थानीय किसान छनौटमा परेका छन् ।

    कार्यक्रममा उद्यम विकास सहजकर्ता निर्मला शाही, माओवादी केन्द्रका वडा अध्यक्ष भिमनाथ चौंलागाईं, उपाध्यक्ष भिमबहादुर तामाङ लगायतका सहभागी थिए । कार्यक्रम वडा अध्यक्ष लामाको सभापतित्व र स्थानीय सरोज लामाको सञ्चालनमा भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार