२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गोल्डेनका विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम


२६४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर २०, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रे, (पाँचखाल) –  जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित गोल्डेन फ्युचर उ.मा.विका विद्यार्थीहरुलाई राष्ट्रिय सवा दलको तालिम प्रदान गरिएको छ ।

    गोल्डेन फ्युचरका १८ जना छात्र र १८ जना छात्रा गरी ३६ जनालाई सिनियर डिभिजनको राष्ट्रिय सेवा दलको तालिम प्रदान गरिदैँछ । नेपाल आर्मी राष्ट्रिय सेवा दलको आयोजनामा विद्यार्थीहरुलाई तालिम प्रदान गरिने छ । काभ्रेको पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले तालिमको समन्वय गर्ने विद्यालयका प्राचार्य विशाल घिमिरेले जानकारी दिए ।

    वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका सहायक केन्द्रपति प्रमुख सेनानी देव बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा आज (आइतबार) तालिमको समुद्घाटन गरिएको हो । तालिमको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सेनानी क्षेत्रीले यो उमेर सक्रिय भएर राष्ट्रको सेवाको लागि अगाडी बढेकोमा खुशी व्यक्त गरे ।

    ‘अनुशासित बफादार, इमानदारिता र राष्ट्रिय भावनाको विकास गराउनुको साथै नेत्तृत्व विकास गराउनु यस तालिमको मुख्य उद्देश्य रहेको छ,’ तालिमको बारेमा जानकारी गराउँदै उनले भने, ‘ सिकाएको कुरालाई विद्यार्थीहरुले अनुशासित भएर पालना गर्नुपर्नेछ ।’ ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’, यस तालिमको मूल नारा भएकाले विद्यार्थीहरुले अनुशासित तालिम समापन गर्नुहुन्छ भन्नेमा आफू विश्वसत रहेको उनले बताए ।

    तालिममा विद्यार्थीहरुले सिकेको सीपलाई सदुपयोग गर्दै भविष्यमा विपदको समयमा आएका चुनौतीलाई सामना गर्दै स्वयंमसेवकको भूमिका निर्वाह गर्न सकिने उनले जानकारी दिए । लामो समयको प्रयासपछि विद्यार्थीहरुलाई तालिम  प्रदान गराउन पाउनु खुशीको विषय भएको विद्यालयका प्राचार्य विशाल घिमिरेले बताए । उक्त तालिमले विद्यार्थीहरुको व्यक्तित्व विकास गर्नुको साथै नेत्तृत्व तथा क्षमता विकास गर्नेमा उनी विश्वस्त छन् ।

    त्यस्तै विद्यार्थीहरुले अनुशासन पालना गरेर उत्कृष्ट नजिता ल्याउने आफूमा विश्वास रहेको विद्यालय व्यवस्थापन समिति तथा सञ्चालक समितिका अध्यक्ष बद्री बहादुर महतले बताए । विद्यार्थीहरुलाई ५१ दिनको तालिम प्रदान गरिने बताइएको छ । तालिममा विद्यार्थीहरुलाई गोर्खाली खुकुरी चलाउन सिकाइने, पर्शनल फिटनेसका लागि टेकवान्डो, अ‍ेरोबिक तालिम दिइनेछ । त्यस्तै पब्लिक स्पिकिङ, रक क्लाइम्बिङ, स्विमिङ, हर्स राइडिङ, फाइरिङको तालिम पनि प्रदान गरिनेछ ।

    तालिमको समुद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समिति तथा सञ्चालक समितिका अध्यक्ष बद्री बहादुर महत, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका सहायक केन्द्रपति प्रमुख सेनानी देव बहादुर क्षेत्री, विद्यालयका प्राचार्य विशाल घिमिरे, काभ्रे एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टका सञ्चालक मोहन गजुरेल, प्रशिक्षक कुमार लामिछाने, शान्ति के.सी, तालिम संयोजक रमेश ढुगांना लगायतको उपस्थिती रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार