२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

एमाले नेताको जिम्मेवारी हेरफेर


७१२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० जेष्ठ २०, शनिबार मा प्रकाशित १0 महिना अघि
  • काठमाडौँ – नेकपा (एमाले)ले पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी हेरफेर गरेको हो ।

    एमाले प्रचार विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिअनुसार बैठकले वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्षलाई पार्टीका ३३ वटा केन्द्रीय विभागलाई कामको प्रकृतिका आधारमा समूह बनाई ती समूहको संयोजन गर्ने जिम्मेवारी दिएको छ ।

    यस्तै बैठकले पार्टीको कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश, जिल्ला र पालिका तहसम्म केन्द्रीय कमिटीका नेतालाई इन्चार्जका रूपमा खटाउने निर्णय गरेको छ । एमालेले सातै प्रदेशका इन्चार्ज परिवर्तन गरी पार्टीका सचिवलाई प्रदेश इन्चार्ज तोकेको छ ।

    कोशी प्रदेशमा सचिव रघुवीर महासेठ, मधेसमा योगेश भट्टराई, वागमतीमा तोक्न बाँकी, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदुरपश्चिममा छविलाल विश्वकर्मालाई इन्चार्ज तोकिएको छ ।

    त्यसैगरी सङ्गठन विभाग प्रमुखमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई जिम्मेवारी तोकिएको छ । यसअघि प्रचार विभागको प्रमुखमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ रहेका थिए ।

    बैठकले जिल्ला इन्चार्जको जिम्मेवारी फरक भूगोलमा स्थायी कमिटी सदस्य र पोलिटब्यूरो सदस्यलाई दिएको छ भने केन्द्रीय कमिटी सदस्यलाई पालिकास्तरको इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार