२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

काठमाडौ विश्वविद्यालयमा १ हजार २४० विद्यार्थी दीक्षित हुने


८३७३ पाठक संख्या
  • २०८० जेष्ठ २५, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • काभ्रेपलाञ्चोक । काठमाडौं विश्वविद्यालय (केयु)को २८औँ दीक्षान्त समारोह (दोस्रो चरण)बाट १ हजार २४० विद्यार्थी दीक्षित हुने भएका छन्।

    केयुका उपकुलपति प्राडा भोला थापाले बिहीबार पत्रकार सम्मेलानमार्फत दीक्षान्तमा विभिन्न विधाका ९ जना पीएचडी, ४१ जना एमफिल, स्नातकोत्तर तहका ९८ जना र स्नातक १ हजार ९२ जना सहित जम्मा १ हजार २४० जना विद्यार्थी दीक्षित हुने जानकारी दिए।

    उनका अनुसार २८ औँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रममा स्कुल अफ साइन्स, इन्जिनियरिङ, शिक्षा, म्यानेजमेन्ट, मानविकी संकाय, कानुन र मेडिकल साइन्सेज विधाका विभिन्न कार्यक्रममा अध्ययन पूरा गरेकाहरू दीक्षित हुन लागेका हुन्।

    तीमध्ये मानविकी संकायका ३५ जना, शिक्षाका ५७, इन्जिनियरिङका ३६५, कानुनका १, म्यानेजमेन्टका ५० जना, मेडिकल साइन्सेजका ५६५ जना र साइन्सका १६७ जना विद्यार्थी छन्। दीक्षित हुनेहरूमा चीन, जर्मनी, भारत, अष्ट्रिया, क्यानडा, इटाली, मालदिभ्स, पोर्चुगल,स्पेन, श्रीलंका, ताइवान, संयुक्त राज्य अमेरिका लगायतका देशका विद्यार्थी समेत रहेको केयूले जनाएको छ।

    उपकुलपति प्राडा थापाले ०८० जेठ २२ गते सोमबार प्रधानमन्त्रीको सचिवालय बालुवाटार, काठमाडौंमा केयुको ९५ औँ बैठक केयुको ऐन, २०४८ को दफा १३ बमोजिम प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न भएको बताए।

    केयुको २८औँ दिक्षान्त समारोह (दोस्रो चरण)को तयारीका सन्दर्भमा विभिन्न तहका विभिन्न उपाधिहरू प्रदान गर्न ग्रेसलिष्ट स्वीकृत गर्ने कार्यका लागि बैठक बसेको उनको भनाई छ। उनले सो अवसरमा आ.व २०७८-०७९ को वार्षिक कार्यप्रगती विवरणसमेत स्वीकृत गरेको बताए।

    उपकुलपति प्रा.डा. थापाले केयूको २८ औँ दीक्षान्त समारोह (दोस्रो चरण) यही ०८० जेठ २८ गते आइतवार केयूको केन्द्रीय परिसर धुलिखेलमा हुने बताए।

    आयभन्दा व्यय बढी हुने अनुमान

    केयुको उपकुलपति प्राडा भोला थापाले आ.व २०८०-०८१ को वार्षिक कार्यक्रम तथा अनुमानित आयव्यय (बजेट) पारित भएको जानकारी दिए। उनका अनुसार आ.व २०८०-०८१ मा २ अर्ब २१ करोड ५५ लाख आय तथा २ अर्ब २६ करोड व्यय हुने अनुमान गरिएको छ। जुन आयभन्दा व्यय ४ करोड ४५ लाख बढी हो।

    त्यस्तै विश्वविद्यालयले आ.व २०७७-०७८ र आ.व २०७८-०७९ को वार्षिक लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरेसँगै आ.व २०७९-८० को लेखापरीक्षणका लागि एमबी श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्ति गरी लेखापरीक्षकको पारिश्रमिकसमेत निर्धारण गरेको जनाइएको छ।

    उपकुलपति प्राडा थापाले काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को दफा ५ (ङ) एवं २२ बमोजिम विश्वविद्यालय आर्थिक नियम २०४९ मा आठौँ संशोधन नियम, २०८० लाई संशोधन गर्ने निर्णय गरेको बताए।

    पहिलो चरणमा १ हजार ६०६ जना विद्यार्थी दीक्षित

    यसअघि २८ औँ दीक्षान्त समारोहको पहिलो चरणमा विभिन्न विधाका ८ जना पीएचडी, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका १ हजार ६०६ जना विद्यार्थी दीक्षित भएका थिए। दीक्षित हुनेहरूलाई पूर्वप्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवा, प्रमुख आतिथि वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे र पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलले प्रमाणपत्र वितरण गरेका थिए।

    दीक्षान्तको पहिलो चरणमा मानविकी संकायका २२० जना, शिक्षाका २०२, इन्जिनियरिङका २६, कानुनका ४०, म्यानेजमेन्टका ४६२ जना, मेडिकल साइन्सेजका ७०९ जना र साइन्सका ३७ जना विद्यार्थी दीक्षित भएको हो।

    उक्त दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीमा महिला ५६.८० प्रतिशत (९६५ जना) र पुरुष ४३.२० प्रतिशत (७३४ जना) थिए। तीमध्ये विभिन्न १४ देशका विदेशी विद्यार्थी १०.९५ प्रतिशत (१८६ जना) रहेको थियो। २८ औँ दीक्षिन्त समारोहको दोस्रो चरण सकिँदा केयूबाट ४१ हजार २७८ जना विद्यार्थी दीक्षित भइसकेको हुनेछन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार