पाँचखाल/पाँचखाल नगरपालिका वडा नं ३ झिकूँ खोला (तामा घाट) पुल मुनि रहेको सुनमती गङ्गाको तिरमा अवस्थित ताम्रेश्वर महादेव मन्दिर परिसर (हाता) मा रहेको घाटमा विराट ज्ञानमहायज्ञ लागिरहेको छ ।
घाटमा दाहा संस्कार गरेका पितृहरूको मोक्ष साथै घाट व्यवस्थापनलाई थप मजबुत पार्दै घाटको हातामा अवस्थित किरिया पुत्री घरको तल्ला थप्ने कार्यको लागि धन धान्याञ्चल सप्ताह विराट ज्ञानमहायज्ञको आयोजना गरेकोमा दानबिरहरुले आफ्ना पितृ मोक्षको लागि दान गर्ने क्रम जारी रहेको छ । आज शनिवार सम्म १५ लाख ७३ हजार ४९० रुपैयाँ दान प्राप्त भएको र दानपेटीकामा रहेको रकम गन्न बाँकी भएको व्यवस्थापन समितिका सदस्य एवं आज सम्मको सवैभन्दा वडि ६२२२२ दान गर्ने दानविर ज्ञान वहादुर थापाले जानकारी गराउनु भयो ।
पाँचखाल र आसपासको क्षेत्रको ऐतिहासिक धरोहर मध्यको एक धरोहरको रुपमा रहेको ताम्रेश्वर महाँदेव परिसरमा अवस्थित घाट हिन्दु धर्माबलम्बीहरूको लागि मोक्ष भूमिको रुपमा परिचित रहेको छ । सो अति महत्व बोकेको स्थानमा लगाइएको ज्ञानमहायज्ञको कारण सम्पूर्ण पितृहरूको मोक्ष हुने जनविश्वास रहेको छ ।
प्रमुख वाचक पंडित परशुराम काफ्लेको मुखारविन्दबाट वाचन भएको उक्त ज्ञानमहायज्ञमा पाँचखाल र आसपासका दानवीरले आर्थिक दान गर्नुभएको छ । भक्तजनहरूले आफ्ना अभिभावकहरू अन्त्येष्टि गरिएको स्थानमा लगाइएको ज्ञानमहायज्ञ गर्दा पितृहरू मोक्ष हुने साथै उक्त स्थानमै पवित्र हुने विश्वास लिएका छन् ।
घाट व्यवस्थापन समितिको आयोजनामा भएको उक्त कार्यक्रमको उद्देश्य पितृ मोक्षको साथै किरियापुत्री घरको व्यवस्थापन गर्ने रहेको छ । आफ्नो घरमा किरिया गर्ने स्थान अभाव ‚ रोजगारी वा श्रमको सिलसिलामा पाँचखालमा कोठा लिएर बस्नेहरुको समस्यालाई मध्यनजर गर्दै किरियाघर निर्माणलाई प्राथमिकता दिएको सप्ताह घाट व्यवस्थापन समितिका सदस्य ज्ञान बहादुर थापाले जानकारी गराउनु भयो । भदौ १६ गतेबाट सुरुभएको धन धान्याञ्चल सप्ताह विराट ज्ञानमहायज्ञ भोली भाद्र २४ गतेसम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया दिनुहोस