२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जेष्ठ नागरिकलाई निःशुल्क दाँतको व्यवस्था


६९४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० पौष १३, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको जेठो नगरपालिका बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’ अन्तर्गत दाँत फुक्लेका ६० वर्षभन्दा माथिका नागरिकलाई कृत्रिम दाँत निःशुल्क राखिदिने भएको छ ।

    नगरले दाँत नभएका नागरिकको पहिचानका लागि १४ वटै वडामा दन्त शिविर सञ्चालन गर्न कार्यतालिका सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले जानकारी गराउनु भएको छ । उहँका अनुसार समाज डेन्टल केयर र सुप्रिम डेन्टल केयरको प्राविधिक सहयोगमा हुने शिविरबाट छनौट भएका सबैलाई निःशुल्क रुपमा दाँत राखिदिने योजना बनाइएको हो ।

    शिविरबाट लागत अनुमान गरी सोही अनुसार बोलपत्र आह्वान गरी कार्यक्रम गरिने जनाइएको छ । “ज्येष्ठ नागरिकको सम्मानका लागि उक्त प्रकारको कार्यक्रम गर्न लागेका हौँ”, नगर प्रमुख शान्तिरत्न शाक्यले भन्नुभयो । उहाँका अनुसार कार्यक्रमले नगरका ६० वर्षभन्दा माथिका नागरिकमा खुशी देखिने अपेक्षा गरिएको छ ।

    यसैबीच, बनेपा नगरपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पतालको समन्वयमा बनेपाका ६९ विद्यालयमा अध्ययनरत २३ हजार तीन सय ८२ विद्यार्थीको निःशुल्क आँखा परीक्षण अभियान सञ्चालन भइरहेको छ । वडा नं ६ स्थित भक्तेश्वर मावि विद्यालयबाट आँखा परीक्षणको औपचारिक सुरुआत गरिएको हो । अस्पतालले केही समयअघि शिक्षकलाई आँखासम्बन्धी तालिम दिँदा विद्यार्थीले अध्ययन गर्न नसक्नुमा आँखाको दृश्य प्रमुख कारण भएको जानकारी भएपछि अभियान नै थालिएको नगरले जनाएको छ ।

    प्रारम्भिक सूचनाका आधारमा आँखाको दृश्य १० देखि १५ प्रतिशत विद्यार्थीमा कम भएको पाइएपछि नगरभित्रका सबै विद्यार्थीको एकैपटक आँखा परीक्षण गरी देखिएको समस्याको उपचार गराइने छ । “स्थानीय नागरिकका लागि आधारभूत स्वास्थ्य उपलब्ध गराउने नगरको दायित्व भएकाले आँखालगायत नसर्ने रोग नियन्त्रण र त्यसको परीक्षण तथा पहिचान गरी उपचार गर्ने गरी अभियान सुरु गरेका हौँ”, नगर प्रमुख शाक्यले भननुभयोे ।

    नगरका बालबालिका, महिला र ज्येष्ठ नागरिकको अलावा नगरभित्रका विपन्न समुदायका नागरिकलाई सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन नगरले आधारभूत अस्पताल, स्वास्थ्य चौकीको स्तरोन्नति तथा सुविधा सम्पन्न बनाउँदै लगिएको नगर उपप्रमुख विमला सापकोटाले बताउनु भयो । उहाँक अनुसार अभियान अन्तर्गत आँखा परीक्षणसँगै तत्कालै आवश्यक पर्ने औषधी निःशुल्क उपलब्ध गराइएको छ भने बालबालिकामा थप सङ्क्रमण वा समस्या देखिएमा अस्पताल पुर्याई निःशुल्क सेवा उपलब्ध गराइने छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार