२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

छोरा छोरीको हत्या पछि आमाले आत्महत्या


९४१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० माघ २८, आईतबार मा प्रकाशित ५ महिना अघि
  • काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलस्थित ओचुहाइटमा शनिवार रविना महर्जन घरको तेस्रो तलाबाट हाम फालिन् । प्रहरीले उनको उद्धार गरेर घरभित्र जाँदा दुई जना बच्चाबच्ची पनि अचेत अवस्थामा भेटिए । तीनै जनालाई ग्वार्कोस्थित किष्ट अस्पताल लगिएपनि चिकित्सकहरूले मृत घोषणा गरे ।

    रविनाले हाम फालेर आत्महत्याको बाटो रोजेको घर उनको आफ्नै हो । ३६ वर्षीया रविनाले दुई जना नाबालकको हत्या गरेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनका ६ वर्षीय छोरा अश्वेत र दुई वर्षीया छोरी रिवा छुट्टाछुट्टै कोठामा अचेत अवस्थामा भेटिएका हुन् ।

    रविनाले बच्चाहरूको हत्या गरेर आत्महत्या रोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नवराज कार्कीले बताए । कार्कीले भने, ‘हत्यापछि आत्महत्या गरेको हुनसक्छ तर, पोस्टमार्टम रिपोर्ट आएपछि यकिन कारण थाहा हुन्छ ।’

    आमा र छोराछोरीको शव पाटन अस्पतालमा पोस्टमार्टम हुँदै छ । पोस्टमार्टममा संलग्न चिकित्सकहरूले अनुसन्धान अधिकृतहरूलाई ‘श्वास बन्द भएर’ दुई नाबालकको मृत्यु भएको जानकारी दिएका छन् । तर, पूर्ण रिपोर्ट आएको छैन ।

    नाबालकहरूको मुखमा केही खाएको जस्तोपनि देखिएको छ । त्यसबारे पोस्टमार्टम रिपोर्ट कुरिरहेको एसपी कार्कीले बताए । घटना हुँदा घरमा रविनाको सासू मात्रै थिइन् । उनी शारीरिक रूपमा अशक्त छिन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार