२०८१ आश्विन २६, शनिबार | Sat, 12, Oct, 2024

भोली भारी बर्षातको संभावना , यात्रामा ननिस्कन मौसव विदको सुझाव


३५११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ आश्विन १५, मंगलबार मा प्रकाशित १ हफ्ता अघि
  • काठमाडौँ — जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाका अनुसार बुधबार कोशी र वाग्मती प्रदेशका एक/दुई स्थानमा पुनः भारी वर्षा हुने सम्भावना रहेको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाले ठूलो जनधनको क्षति गरेपछि बौरिँदै गरेको वाग्मती र कोशी प्रदेशमा बुधबार पुनः भारी वर्षाको सम्भावना देखिएको हो ।

    मौसम पूर्वानुमान महाशाखाले कोशी र वाग्मतीको कुन स्थानमा भारी वर्षा हुन सक्छ भन्नेबारे भने आफ्नो तीनदिने मौसम बुलेटिनमा केही खुलाएको छैन । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार गजुरेलले बुधबार दिउँसो र राति कोशी र वाग्मतीका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको बताए ।

    ‘मंगलबार पनि मौसममा आंशिक मात्रै बदली रहने देखिन्छ । बुधबार देशभर आंशिक बदली भए पनि कोशी र वाग्मतीका केही स्थानहरूमा भने भारी वर्षाको सम्भावना छ,’ उनले भने । गजुरेलका अनुसार अहिले पनि नेपालमा स्थानीय मनसुनी वायुको प्रभाव कायम रहेको छ भने भारतको मध्यप्रदेश र आसपासको क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ । जसकारण मंगलबार साधारणदेखि आंशिक बदली भई मुख्यतः मौसम सफा रहने तर केही ठाउँहरूमा भने हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

    बुधबार भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यतः मौसम सफा रहनेछ भने कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा मौसम बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर, कोशी र वाग्मतीका केही स्थानमा भने भारी वर्षा हुन सक्ने देखिन्छ । विभागले हरेक दिन बिहान र बेलुका तीन दिनसम्म मौसम पूर्वानुमान गर्ने गरेको छ ।

    ‘हामीले तीन दिनसम्मको पूर्वानुमान गर्दै आएका छौं, त्योभन्दा पछाडिको अहिले नै अनुमान लगाउन सकिँदैन,’ मौसमविद् गजुरेलले भने । उनका अनुसार दसैंमा भने ठूलो वर्षाको सम्भावना छैन । ‘अब फेरि यस्तै ठूलो विषम वर्षाको सम्भावना त देखिएको छैन । तथापि जलवायुको कुरा हो । नेपालबाट मनसुन पूर्णरूपमा बाहिरिएको पनि छैन । त्यसैले यकिन गरेर भन्न सकिँदैन,’ गजुरेलले भने, ‘अहिलेकै अवस्थामा दसैंमा ठूलो पानी पर्ने जोखिम छैन । तर मनसुन कायमै रहेकाले देशैभर खण्डित वर्षा हुन सक्छ ।’ उनले अहिलेको अवस्थामा सकेसम्म रात्रिकालीन यात्रा नगर्नु नै उचित हुने सल्लाह पनि दिए । ‘सकेसम्म छोटो यात्रा मात्रै गर्ने । लामो दूरीको यात्रा गर्दा आफ्नो गन्तव्यको मौसम पूर्वानुमान हेर्ने र सतर्कता अपनाउनु उचित हुन्छ,’ उनले भने ।

    गत बिहीबारदेखि शनिबारसम्म भएको भारी वर्षाले ठूलो जनधनको क्षति गरेपछि मानिसहरूमा अब यात्रा गर्ने वा नगर्ने, गर्दा कसरी सावधानी अपनाउने भन्ने अन्योल छ । फेरि उस्तै जोखिमपूर्ण वर्षा र बाढीको सम्भावना भए/नभएकोबारे समेत सर्वत्र चासो छ । मौसमविद्हरूले भने तत्कालै फेरि यस्तै भारी वर्षाको सम्भावना नभए पनि यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिएका छन् । भारी वर्षाले जमिन गलेका कारण सकेसम्म रात्रिकालीन यात्रा नगर्नु उपयुक्त हुने मौसमविद्हरूको सुझाव छ ।

    त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा.मदन सिग्देल तत्कालै भारी वर्षाको जोखिम नभए पनि रात्रिकालीन यात्रा गर्नु जोखिमपूर्ण हुने सुझाउँछन् । ‘अहिले जसरी पूर्वदेखि पश्चिमसम्म एकैसाथ भारी वर्षा भयो, यस्तो खालको मनसुनी प्रणाली यही वर्ष विकिसत हुने अवस्था अब देखिएको छैन,’ उनले भने, ‘बाँकी त मनसुन रहुन्जेल ठाउँठाउँमा वर्षा हुन सक्छ । तर यसो भनेर हेलचेक्य्राइँ गर्नु पनि हुँदैन । अहिले निकै लामो समयपछि ठूलो पानी परेकाले जमिन गिलो भएको छ । थोरै वर्षा हुँदा पनि बाढीपहिरोको सम्भावना हुन्छ । सँगसँगै चर्को घामका कारण सुक्खा पहिरोको पनि जोखिम बढ्छ ।’ सोमबार बेलुका मलेखुनजिकै त्यही भएर सुक्खा पहिरो खसेको उनले बताए ।

    ‘दिउँसो चर्को घाम लागेपछि सुक्खा भएर राति फेरि सुक्खा पहिरो खस्ने सम्भावना बढी हुन्छ । मलेखुनजिकै भएको पनि त्यही हो,’ उनले भने, ‘त्यसकारण तत्कालका लागि रात्रिकालीन यात्रा असुरक्षित हुन्छ । सकेसम्म राति यात्रा नगरकै राम्रो हो ।’ उनले केही दिन मौसममा राम्रो सुधार भएको अवस्थामा भने ८/१० दिनपछि फरक अवस्था हुन सक्ने बताए । यो वर्ष अक्टोबरको दोस्रो सातासम्ममा मनसुन बाहिरिएर जान सक्ने उनी बताउँछन् । ‘अब विस्तारै पश्चिम नेपालबाट मनसुन बाहिरिँदै जान्छ । अक्टोबरको पहिलो–दोस्रो सातासम्ममा मनसुन बाहिरिन हुन सक्छ,’ उनले भने ।स्रोत कान्तिपुर

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार