२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

लुम्बिनीका दुर्गाप्रसाद चौधरी सांसद एमालेबाट निलम्बित


१९५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ मंसिर १३, बिहिबार मा प्रकाशित ५ दिन अघि
  • मंसिर १३, बुटवल — भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट पार्टीले जग्गा दानमा लिनु गलत भएको अभिव्यक्ति दिने लुम्बिनीका प्रदेश सांसद तथा पूर्वमन्त्री दुर्गाप्रसाद चौधरीलाई एमालेले पार्टी सदस्यबाट निलम्बन गरेको छ । सामाजिक सञ्जाललगायतमा पार्टीविरोधी अभिव्यक्ति दिएको तथा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको मानहानि गरेको भन्दै चौधरीलाई एमाले बाँकेले मंगलबार निलम्बन गरेको हो ।

    एमाले बाँकेले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै पार्टीको मूल्यमान्यताविपरीत सार्वजनिक रूपमा गालीगलौज गरेकाले चौधरीलाई निलम्बन गरेको जनाएको छ । पार्टीविरोधी गतिविधिका विषयमा उनलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कारबाही गरिएको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले बताए ।

    ‘उहाँले कात्तिक ५ देखि नै निरन्तर रूपमा पार्टी हितविपरीत नेतृत्वलाई खुइल्याउने र सामाजिक सञ्जालमा जथाभावी लेख्ने गर्दै आउनुभएको छ, त्यसैले कारबाही गरेका हौं,’ उनले भने, ‘सचेत गराउने उद्देश्यले स्पष्टीकरण सोधिएको तर चित्तबुझ्दो जवाफ नआएपछि निलम्बनको प्रक्रियामा गएका हौं ।’ उनले निलम्बनको जानकारी केन्द्र र प्रदेश कमिटीलाई पनि पठाइएको बताए ।

    चौधरी बाँके–१ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य र लुम्बिनी प्रदेशका पूर्ववन तथा वातावरण मन्त्रीसमेत हुन् । उनी एमालेको लुम्बिनी प्रदेश कमिटीका सल्लाहकारसमेत हुन् । चौधरीले बुधबारसम्म निलम्बन पत्र नपाएको तर सामाजिक सञ्जालबाट थाहा पाएको बताए । ‘मलाई पार्टीबाट कारबाही गरिएको कुनै पत्र वा जानकारी आइसकेको छैन तर हिजोदेखि नै सामाजिक सञ्जालमा हल्ला गरेको देखिरहेको छु,’ उनले भने, ‘मैले कारबाही भोग्नुपर्ने कुनै गलत काम गरेको छैन ।’

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार