काभ्रेपलाञ्चोक/ काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा नेपाली कांग्रेसले नगरस्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।
नेपाली कांग्रेस पाँचखाल नगर समितिका सभापति संजय तामाङको सभाध्यक्षतामा सोमबार सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि काभ्रे क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका उम्मेदवार मधु प्रसाद आचार्य रहनुभएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले विगतमा एकताको नाममा पार्टीका नेता तथा कार्यकर्ताले रुख चिन्हमै भोट हाल्न नपाउने अवस्था सिर्जना हुनु नेपाली कांग्रेसको कमजोरी भएको स्वीकार गर्नुभयो। उहाँले विगतमा उम्मेदवार चयनको सम्पूर्ण अधिकार नेतृत्वमा सीमित रहेकामा अबका दिनमा सबै तहका उम्मेदवार अगुवा कार्यकर्ता र जनताको सहभागितामार्फत चयन हुने वातावरण तयार गरिएको बताउनुभयो।
“अब सबै प्रकारका नेताहरूलाई समान अवसर प्रदान गरिनेछ,” आचार्यले भन्नुभयो, “एउटै व्यक्ति लामो समयसम्म एउटै स्थानमा बस्न नपाउने नीति कांग्रेसले लिएको छ। अब दौरा समातेर नेता बन्ने दिन सकियो, राम्रो नेता बन्न जनतालाई रिजाउनुपर्छ।” पाँचखालको विकास निर्माणमा आफू लामो समयदेखि सक्रिय रहेको उल्लेख गर्दै आगामी दिनमा थप विकासका योजनालाई अगाडि बढाउन उम्मेदवारी दिएको उहाँको भनाइ थियो।
अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति तथा बागमती प्रदेश सभा सदस्य तिर्थ लामाले नेपाली जनताको चाहनाअनुसार सुशासन दिने अभियानमा कांग्रेस अगाडि बढिरहेको बताउनुभयो। श्रमजीवी र निम्न वर्गले अपेक्षित सुशासन नपाउँदा दुःख भोग्नुपरेको उल्लेख गर्दै त्यसकै परिणामस्वरूप ‘जेन–जी’ आन्दोलन अघि बढेको उहाँको धारणा थियो। “यो विवाद गर्ने समय होइन, आन्तरिक विषयहरू निर्वाचनपछि छलफल गरेर समाधान गरौं,” लामाले आग्रह गर्नुभयो।
त्यसैगरी नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. २ का क्षेत्रीय सभापति तथा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले काम गर्ने क्रममा कमी–कमजोरी हुन सक्ने स्वीकार गर्दै सुझाव पाए सुधार गर्न तयार रहेको बताउनुभयो। “भदौ २३ र २४ पछि देशको अवस्था फेरिएको छ, ठूलो षड्यन्त्रको बीचमा हामी उभिएका छौं,” उहाँले भन्नुभयो। विगतका कमजोरी सुधार गर्दै गगन थापाको नेतृत्वमा कांग्रेस अघि बढिरहेको उल्लेख गर्दै मधु प्रसाद आचार्यजस्तो विकासप्रति प्रतिबद्ध उम्मेदवार पाउनु पाँचखालका लागि अवसर भएको खरेलको भनाइ थियो।
नेपाली कांग्रेस पाँचखाल नगर समितिका सचिव सुनिल लुइटेलद्वारा सञ्चालन गरिएको कार्यक्रममा सभापति जय तामाङले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रममा कांग्रेसका अग्रज नेता अच्युत पौडेल, बागमती प्रदेश सदस्य होम चौलागाईं, भुम्लु गाउँपालिकाका उपाध्यक्ष एवं महाधिवेशन प्रतिनिधि जितेन्द्रमान तामाङ, क्षेत्रीय सभापति हेमकुमार तामाङ, जिल्ला समन्वय समिति प्रवक्ता अप्सरा ढुंगाना (सिपखान), अग्रज नेता कुमार लामिछाने, पूर्व क्षेत्रीय सभापति सुन्दरमणि आचार्य, पाँचखाल–४ का वडाध्यक्ष सुन्दर तामाङलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस