काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पार्वती माध्यमिक विद्यालयले जितेको छ। चक्रेश्वर माध्यमिक विद्यालयलाई पछि पार्दै पार्वती माविले समग्र उपाधि हात पारेको हो।
फागुन १ देखि ३ गतेसम्म पार्वती माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगितामा गाउँपालिकाभरिका ९ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो। एथलेटिक्स तथा भलिबल विधामा विद्यार्थीहरूले उत्साहजनक प्रतिस्पर्धा गरेका थिए।
छात्रातर्फ आत्मा विकास माध्यमिक विद्यालय प्रथम र भूमिमाता माध्यमिक विद्यालय द्वितीय भए। छात्रतर्फ कृष्णगोपाल मावि तृतीय स्थानमा रह्यो भने छात्रातर्फ पार्वती मावि तृतीय बनेको थियो।
समापन तथा पुरस्कार वितरण समारोहमा गाउँपालिका अध्यक्ष भगवान अधिकारी र उपाध्यक्ष तारा राना तिमल्सिनाले विजयी विद्यालय तथा खेलाडीहरूलाई शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगिताले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले खेलकुदले अनुशासन, टिमवर्क, सहनशीलता र नेतृत्व क्षमता विकास गराउने उल्लेख गर्दै यस्ता प्रतियोगिताबाट स्थानीय तहबाटै राष्ट्रिय स्तरका प्रतिभा उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो।
उपाध्यक्ष तारा राना तिमल्सिनाले सहभागितालाई नै सफलताको आधार भएको उल्लेख गर्दै प्रतियोगितामा देखिएको उत्साहले गाउँपालिकालाई गर्वान्वित बनाएको बताउनुभयो। उहाँले खेलकुदलाई शिक्षा र स्वास्थ्यसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिँदै भविष्यमा प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समापन कार्यक्रममा वडा अध्यक्षहरू पुरुषोत्तम तिमल्सिना, राजकुमार वाइबा, गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना तथा पार्वती क्याम्पस प्रमुख राजेश तिमल्सिनालगायतको उपस्थिति रहेको थियो।
यस वर्ष प्रतियोगिताको व्यवस्थापन पार्वती माध्यमिक विद्यालयले गरेको थियो। विद्यालयका प्रधानाध्यापक गोविन्द तिमल्सिनाले प्रतियोगिताले गाउँपालिकामा खेलकुदप्रतिको आकर्षण बढाएको र विद्यार्थीहरूमा अनुशासन तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गरेको बताउनुभयो। उहाँले उपाधि जोसुकैले जिते पनि सबै खेलाडीले प्रतिभा निखार्ने अवसर पाएको उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।
प्रतिक्रिया दिनुहोस