२०८२ फागुन ७, बिहिबार | Thu, 19, Feb, 2026

सार्वजनिक सुनुवाईमार्फत उज्यालो नेपालले विकास गतिविधि र पारदर्शिता प्रस्तुत


१६९१ पाठक संख्या
  • २०८२ फागुन ७, बिहिबार मा प्रकाशित ११ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ९ स्थित सुनकोशी एडभेन्जर रिट्रिटमा उज्यालो नेपाल नामक संस्थाद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

    विगत दशकमा मुलुकमा भएका प्राकृतिक प्रकोप र विकास आवश्यकताका कारण पीडित समुदायको सहायतामा केन्द्रित यो संस्था समुदायको समग्र विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।

    २०७२ साल बैशाख १२ गते आएको महाभूकम्पपछिका पीडितहरुलाई राहत र सहयोग प्रदान गर्ने उद्देश्यले स्थापना भएको यस संस्थाले शुरुमा आपतकालीन राहत वितरणमा ध्यान केन्द्रित गरेको थियो । त्यसपछि संस्थाले क्रमशः खानेपानीको सहज पहुँच, शिक्षा, स्वास्थ्य सेवा, तथा सामुदायिक भवन निर्माणलगायतका परियोजनामा सक्रिय योगदान पु¥याउँदै आएको छ । यस क्रममा स्थानीय समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गरिएको संस्थाले जनाएको छ ।

    संस्थालाई काठमाडौ जिल्ला प्रशासन कार्यालयमा २०७२ मंसिर २९ गते गैरसरकारी संस्था नं ३८६ मा दर्ता गरिएको थियो । संस्थाको केन्द्रीय कार्यालय काठमाडौ, किर्तिपुर नगरपालिका वडा नं १, ट्याङ्गलाफाट मा रहेको छ भने कार्यक्षेत्र काभ्रेपलाञ्चोक, काठमाडौ र रामेछाप जिल्लामा रहेको छ । यसले आफ्नो व्यापक कार्यक्षेत्र भित्र पर्ने विभिन्न वडाका समुदायलाई सुलभ र व्यवस्थित ढंगले सहयोग पु¥याउँदै आएको छ ।

    सार्वजनिक सुनुवाई कार्यक्रममा संस्थाको हालसम्मको कामको प्रगति, उपलब्धि, चुनौती र आगामी योजना बारे सरोकारवालाहरूलाई प्रत्यक्ष जानकारी गराइएको थियो । उपस्थित सरोकारवालाहरूले संस्थाले पारदर्शिता र जिम्मेवारीपूर्वक काम गर्दै आएकोमा प्रशंसा व्यक्त गर्दै उज्यालो नेपाललाई समुदायको लागि भरोसायोग्य संस्था भएको धारणा राख्नुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष संजय तामाङले गर्नुभएको थियो । अध्यक्षले संस्थाले शुरुदेखि हालसम्म समेटेका परियोजना र उपलब्धिहरू विस्तृत रूपमा प्रस्तुत गर्नुभयो । संस्थाका उपाध्यक्ष रामकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै सहभागी सरोकारवालाहरूलाई कार्यक्रमका उद्देश्य र गतिविधिको बारेमा जानकारी गराउनुभयो । कार्यक्रम सञ्चालन सुनिल लुईटेलले गर्नुभएको थियो ।

    उक्त कार्यक्रममा स्थानीय प्रतिनिधि, समाजसेवी, शिक्षक, स्वास्थ्यकर्मी, महिला तथा युवा समूहका प्रतिनिधिहरूको उपस्थिती उल्लेखनीय थियो । सहभागीहरूले संस्था सञ्चालनको पारदर्शिता, समुदायसँगको समन्वय र दीर्घकालीन विकास कार्यमा संस्थाको सक्रियतामा सन्तोष व्यक्त गर्नुभएको थियो ।

    उज्यालो नेपालले आगामी दिनमा पनि समुदायको सर्वाङ्गीण विकास, स्वास्थ्य, शिक्षा, आपतकालीन राहत, खानेपानी र सामुदायिक भवन निर्माणलगायत क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थाले समुदायको आवश्यकता अनुसारका नयाँ कार्यक्रमहरू सञ्चालन गर्दै प्रत्येक परियोजना पारदर्शिता र सहभागी सहभागितामा आधारित हुने स्पष्ट पारेको छ ।

    सार्वजनिक सुनुवाई कार्यक्रमले संस्थाको कामप्रति जनचेतना वृद्धि गर्ने, समुदायमा विश्वास निर्माण गर्ने र आगामी योजनाहरूको सफल कार्यान्वयनमा सरोकारवालाहरूको सहयोग सुनिश्चित गर्ने महत्व राख्छ । यस प्रकारका कार्यक्रमहरूले न केवल संस्थाको क्षमता प्रस्तुत गर्छन्, तर स्थानीय समुदायको विकासमा दीर्घकालीन प्रभाव पनि पार्छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार