२०८२ फागुन १४, बिहिबार | Thu, 26, Feb, 2026

निर्वाचन आचारसंहिता उल्लंघन : तीन पक्षलाई २५ हजार जरिवाना


१८२१ पाठक संख्या
  • २०८२ फागुन १४, बिहिबार मा प्रकाशित ९ घण्टा अघि
  • १४ फागुन, काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै दुई जना प्रतिनिधिसभा सदस्य उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गरेको छ।

    केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिको निर्णयअनुसार शक्तिबहादुर बस्नेतडा. निकोलस भूसाललाई जनही २५ हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै श्रम शक्ति नामक राजनीतिक दललाई पनि २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरिएको आयोगले जनाएको छ।

    समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त सगुन शमशेर जबराका अनुसार आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीमाथि छानबिन गर्दा मागिएको स्पष्टीकरण चित्तबुझ्दो नआएपछि जरिवानाको निर्णय गरिएको हो।

    उनले भने, “उजुरी पर्नु मात्र पर्याप्त हुँदैन, कारबाहीका लागि प्रमाण आवश्यक हुन्छ। कसैलाई दुःख दिन बिना प्रमाण नाम उल्लेख गर्ने प्रवृत्ति पनि हुन सक्छ। प्रमाणका आधारमा नै कारबाही गरिएको हो।”

    आयोगका अनुसार हालसम्म देशभरबाट ३ सयभन्दा बढी आचारसंहिता उल्लंघनका उजुरी परेका छन्। तीमध्ये ८२ जनालाई केन्द्रीय तहबाट स्पष्टीकरण सोधिएको छ। ५७ जनाले स्पष्टीकरण पेश गरिसकेका छन् भने ६ जना उम्मेदवारसँग पुनः स्पष्टीकरण मागिएको जानकारी दिइएको छ।

    यसैबीच, दुई जना कर्मचारीलाई सचेत गराइएको र एक संस्थानले आचारसंहिता उल्लंघनको विषयमा कर्मचारीलाई हटाएको उजुरी आएपछि पुनर्बहाली गर्न निर्देशन दिइएको आयोगले जनाएको छ।

    निर्वाचनको मिति नजिकिँदै गर्दा आयोगले आचारसंहिताको पालना गराउन निगरानी र कारबाही प्रक्रिया कडाइका साथ अघि बढाइरहेको स्पष्ट पारेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार