काठमाडौं, १६ फागुन — नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न कडाइका साथ आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयले शनिबार यात्रा एडभाइजरी जारी गर्दै दुवै देशको वर्तमान सुरक्षा अवस्था अस्थिर रहेकाले भ्रमण योजना स्थगित गर्न सुझाव दिएको हो। मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “इजरायल वा इरान यात्रा गर्ने योजना बनाएका नेपाली नागरिकहरूलाई दुवै देशको अवस्था सामान्य नहुँदासम्म आफ्नो यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिइन्छ।”
मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको पछिल्लो अवस्थालाई सरकारले नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। सुरक्षा संवेदनशीलता बढ्दै गएको सन्दर्भमा सम्भावित जोखिम न्यूनीकरणका लागि यस्तो परामर्श जारी गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।
हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। मन्त्रालयले ती देशका सम्बन्धित सरकारी निकायहरूले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न, अनावश्यक बाहिर ननिस्कन, सकेसम्म सुरक्षित स्थान वा घरभित्रै बस्न र स्थानीय नेपाली समुदाय तथा दूतावाससँग नियमित सम्पर्कमा रहन अनुरोध गरेको छ।
त्यसैगरी, दुवै देशका सम्बन्धित निकायहरूको पूर्वअनुमतिबिना यात्रा नगर्न पनि स्पष्ट निर्देशन दिइएको छ। आपतकालीन अवस्थाका लागि आवश्यक कागजात तयारी अवस्थामा राख्न र दूतावासको सम्पर्क विवरण अद्यावधिक राख्न मन्त्रालयले सुझाएको छ।
सरकारले परिस्थितिको निरन्तर मूल्याङ्कन गरिरहेको जनाउँदै आवश्यक परे थप कदम चालिने संकेतसमेत दिएको छ। नागरिकहरूको सुरक्षा र संरक्षण सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्रालयले सबैलाई सतर्कता अपनाउन पुनः आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस