
प्रेमचन्द्र झा
रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले रौतहट जिल्लामा सुरक्षा व्यवस्था कडाइका साथ सुदृढ पारिएको छ। जिल्लामा तैनाथ नेपाली सेनाको श्री नारायणदल गण ले व्यापक सुरक्षा रणनीति अवलम्बन गर्दै जिल्लाभर संयुक्त गस्ती तथा निगरानी अभियान सञ्चालन गरेको जनाएको छ।
निर्वाचनलाई भयरहित र व्यवस्थित रूपमा सम्पन्न गराउने लक्ष्यसहित संवेदनशील र अति संवेदनशील मतदान स्थलहरूमा विशेष निगरानी बढाइएको छ। पैदल, मोटरसाइकल र सवारी गस्तीका साथै बख्तरबन्द गाडीमार्फत सुरक्षा परिचालन गरिएको छ। ग्रामीण क्षेत्रदेखि सदरमुकामसम्म सुरक्षा उपस्थिति सुदृढ पारिँदा सर्वसाधारणमा सुरक्षाको अनुभूति बढेको जिल्ला प्रशासन कार्यालय रौतहट ले जनाएको छ।
गणले रौतहटका १७ वटै स्थानीय तहमा उपस्थिति जनाएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सँग समन्वय गर्दै संयुक्त गस्ती तथा चेकजाँच अभियान सञ्चालन भइरहेको छ। सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न संवेदनशील क्षेत्रमा आकस्मिक चेकिङ, सवारी जाँच तथा शंकास्पद गतिविधिमाथि निगरानी तीव्र बनाइएको सुरक्षा स्रोतले जनाएको छ।
निर्वाचन अवधिभर २४ सै घण्टा निगरानी प्रणाली सक्रिय रहनेछ। मतदान केन्द्र वरपर भीड व्यवस्थापन, मतदाता सुरक्षाका साथै निर्वाचन सामग्रीको सुरक्षित ओसारपसारमा पनि नेपाली सेनाले सहयोग गर्ने तयारी गरेको छ। आवश्यकता अनुसार द्रुत प्रतिक्रिया टोली तयारी अवस्थामा राखिएको जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले निर्वाचन शान्तिपूर्ण बनाउन सबै सुरक्षा निकायबीच घनिष्ठ समन्वय भइरहेको बताए। उनले नागरिकलाई कुनै पनि अफवाहमा नपर्न र शान्तिपूर्ण रूपमा मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरे।
स्थानीय बासिन्दाले सुरक्षा निकायको सक्रियताले निर्वाचनप्रति विश्वास बढेको बताएका छन्। “सडक–सडकमा सुरक्षा गस्ती देख्दा ढुक्क महसुस भएको छ,” कटहरिया नगरपालिका वडा नं. २ का स्थानीय समाजसेवी अनुपलाल साहले प्रतिक्रिया दिए।
खुला सीमा, विगतका निर्वाचन अनुभव तथा बढ्दो राजनीतिक गतिविधिलाई मध्यनजर गर्दै पूर्वतयारी स्वरूप सुरक्षा उपस्थिति बढाइएको सुरक्षा विश्लेषकहरूको भनाइ छ। सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, अफवाह तथा उत्तेजनात्मक सामग्रीप्रति पनि सुरक्षा निकाय सतर्क रहेको जनाइएको छ। साइबर निगरानी र सूचना संकलन संयन्त्र सक्रिय राखिएको तथा शंकास्पद गतिविधि देखिए तत्काल कारबाही गरिने चेतावनी दिइएको छ।
मतदानका दिन मतदान स्थल वरपर निषेधित क्षेत्र घोषणा गरी अनधिकृत भीडभाड, जुलुस वा प्रदर्शन हुन नदिने तयारी गरिएको छ। मतदान अधिकृत, कर्मचारी तथा पर्यवेक्षकहरूको सुरक्षामा विशेष ध्यान दिइएको छ भने मतदानपश्चात मतपेटिका संकलन र मतगणना स्थलसम्म सुरक्षित ढुवानीका लागि विशेष सुरक्षा योजना बनाइएको छ।
नेपाली सेनाको श्री नारायणदल गण का गणपति विश्वास विष्टका अनुसार आवश्यक परे हवाई निगरानी तथा आकस्मिक उद्धार सहयोगका लागि समेत तयारी अवस्थामा रहेको छ। स्वास्थ्य आपतकालीन अवस्था, प्राकृतिक विपद् वा अन्य आकस्मिक घटनालाई मध्यनजर गर्दै वैकल्पिक योजना तयार गरिएको उनले बताए।
जिल्ला प्रशासन कार्यालयले सबै राजनीतिक दल, उम्मेदवार तथा मतदातालाई आचारसंहिता पालना गर्न आग्रह गरेको छ। शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न गराउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै प्रशासनले सहयोग र समन्वयका लागि अपिल गरेको छ।
सुरक्षा निकायहरूको कडा सतर्कता, संयुक्त परिचालन र पूर्वतयारीका कारण रौतहटमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सभ्य, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ। लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा लिइने निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन राज्यका सबै संयन्त्र सक्रिय देखिएका छन्।
प्रतिक्रिया दिनुहोस