२०८२ फागुन २०, बुधबार | Wed, 04, Mar, 2026

निर्वाचन पूर्वसन्ध्यामा देशभर १४ स्थानमा शङ्कास्पद वस्तु, सबै ‘होक्स


१०४१ पाठक संख्या
  • २०८२ फागुन २०, बुधबार मा प्रकाशित ६ घण्टा अघि
  • काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन हुने अघिल्लो दिन बुधबार देशका विभिन्न भागमा शङ्कास्पद वस्तु भेटिएका छन्। सुरक्षा निकायका अनुसार ती वस्तुहरू निर्वाचन बिथोल्ने उद्देश्यले राखिएका भए पनि सबै ‘होक्स’ (आतङ्क सिर्जना गर्न राखिएका नक्कली सामग्री) भएको पुष्टि भएको छ।

    काठमाडौं उपत्यकामा काठमाडौं महानगर क्षेत्रअन्तर्गत बुढानिलकण्ठ नगरपालिका–२ को चपली र नागार्जुन नगरपालिका–२ मा राखिएका शङ्कास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो।

    नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले देशभर १४ स्थानमा शङ्कास्पद वस्तु भेटिएको जानकारी दिएका छन्। उनका अनुसार सबै वस्तुहरू सर्वसाधारणमा त्रास फैलाउने उद्देश्यले राखिएका ‘होक्स’ मात्र रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    प्रदेशगत रूपमा कोशी प्रदेश अन्तर्गत ताप्लेजुङ, मोरङ, सुनसरी र उदयपुरमा यस्ता वस्तु फेला परेका थिए। मधेस प्रदेश का पर्सा, धनुषा, महोत्तरी र सर्लाहीमा पनि शङ्कास्पद सामग्री भेटिएको प्रहरीले जनाएको छ। त्यसैगरी कर्णाली प्रदेश को सुर्खेत, सुदूरपश्चिम प्रदेश को कञ्चनपुर तथा गण्डकी प्रदेश का बागलुङ र कास्कीमा पनि शङ्कास्पद वस्तु फेला परेको थियो।

    सुरक्षा निकायका अनुसार सबै स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन गरी वस्तुहरू सुरक्षित रूपमा निष्क्रिय बनाइएको छ। घटनापछि सम्बन्धित क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने सर्वसाधारणलाई अफवाहमा नपर्न र शङ्कास्पद वस्तु देखेमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।

    निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा निकायले देशभर उच्च सतर्कता अपनाएको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार