२०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026

बेदिङमा मतदान बहिष्कार : १ सय १३ मतदाता मौन, हेलिकप्टरबाट रित्तै फर्कियो मतपेटिका


१५६१ पाठक संख्या
  • २०८२ फागुन २१, बिहिबार मा प्रकाशित ६ घण्टा अघि
  • दोलखा — दोलखाको विकट हिमाली क्षेत्र गौरीशंकर गाउँपालिका–९ बेदिङमा यसपटककाे निर्वाचन पूर्ण रूपमा प्रभावित बनेको छ। स्थानीय मतदाताले सामूहिक रूपमा मतदान बहिष्कार गरेपछि मतदान टोली हेलिकप्टरमार्फत रित्तै मतपेटिका लिएर सदरमुकाम फर्किएको हो।

    रोल्वालिङ उपत्यकामा अवस्थित, हिमाल आरोहीहरूको गाउँका रूपमा परिचित पर्यटकीय बस्ती बेदिङमा कुल १ सय १३ जना मतदाता सूचीकृत रहेका थिए। तर निर्वाचनको दिन एक जना मतदाताले पनि प्रत्यक्षतर्फ मत खसालेनन्। मतदान अधिकृतसहित खटिएका कर्मचारीहरू साँझ ५ बजेसम्म मतदाताको प्रतीक्षामा बसे पनि स्थानीयहरू मतदान केन्द्रमा उपस्थित भएनन्।

    स्थानीय बासिन्दाले आफ्ना दीर्घकालीन समस्या समाधानका लागि कुनै पनि उम्मेदवार गाउँमा नआएको र सरोकारवालाले चासो नदिएको गुनासो गर्दै मतदान बहिष्कार गरेको बताएका छन्। सडक, सञ्चार, स्वास्थ्य तथा शिक्षा जस्ता आधारभूत पूर्वाधारको अभावका विषयमा पटक–पटक ध्यानाकर्षण गराए पनि ठोस पहल नभएको उनीहरूको भनाइ छ।

    प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार उक्त मतदान केन्द्रमा प्रत्यक्षतर्फ एक मत पनि खसेन। “मतदाताले बहिष्कार गरेपछि मतदान प्रक्रिया प्रभावहीन बन्यो,” उनले बताए।

    यद्यपि, निर्वाचनमा खटिएका पाँच जना कर्मचारीले भने समानुपातिकतर्फ मतदान गरेका थिए। उनीहरूले हालेको पाँच मतसहितको मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको प्रशासनले जनाएको छ। दुर्गम भौगोलिक अवस्थाका कारण बेदिङमा मतदान सामग्री तथा कर्मचारी ओसारपसार हेलिकप्टरमार्फत गरिएको थियो।

    स्थानीय तहदेखि संघीय तहसम्म निर्वाचनका क्रममा दुर्गम क्षेत्रका मतदाताको सहभागिता सुनिश्चित गर्ने चुनौती दोहोरिँदै आएको सन्दर्भमा बेदिङको घटना पुनः बहसको विषय बनेको छ। विकास र आधारभूत सेवाको प्रत्याभूति नभएसम्म निर्वाचनप्रति उत्साह नदेखाउने चेतावनीस्वरूप बहिष्कार गरिएको स्थानीयको दाबी छ।

    यस घटनाले दुर्गम बस्तीका जनताका अपेक्षा, राजनीतिक पहुँच र विकासको असमान वितरणबारे गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकाय र राजनीतिक दलहरूले यसलाई गम्भीर रूपमा लिएर संवाद र समाधानतर्फ अग्रसर हुनुपर्ने आवश्यकता देखिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार