काभ्रे — अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर काभ्रेको बनेपामा छात्रा विद्यार्थीहरूको नेतृत्व विकास तथा सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘प्रोजेक्ट शिफ्ट’ कार्यक्रम सुरु गरिएको छ।
उक्त कार्यक्रम खबरहब नेपाल को आयोजनामा तथा बनेपा नगरपालिका र क्रिएटिभ अस्ट्रेलिया को सहकार्यमा सञ्चालन गरिएको हो। विद्यालय तहमा अध्ययनरत छात्रा विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार करिब १५ घण्टासम्म चल्ने प्रशिक्षण तथा अन्तरक्रियात्मक सत्रमार्फत कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रमको मुख्य उद्देश्य छात्रा विद्यार्थीहरूलाई समाजमा विद्यमान विभिन्न सामाजिक समस्या र चुनौतीबारे जानकारी गराउनुका साथै ती समस्याको समाधान खोज्ने प्रक्रियामा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम बनाउनु रहेको छ।
कार्यक्रमअन्तर्गत सहभागी विद्यार्थीहरूलाई सामाजिक मुद्दाको पहिचान, समस्या विश्लेषण, आलोचनात्मक सोच तथा सम्भावित समाधानका उपायबारे प्रशिक्षण दिइनेछ। साथै समूहगत छलफल, अन्तरक्रिया, प्रस्तुतीकरण तथा व्यावहारिक अभ्यासमार्फत विद्यार्थीहरूको सक्रिय सहभागिता सुनिश्चित गरिने आयोजकले जनाएको छ।
आयोजक संस्थाका प्रतिनिधिहरूले विद्यालय तहबाटै नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्न सके भविष्यमा सक्षम, जिम्मेवार र सचेत महिला नेतृत्व तयार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। किशोरीहरूलाई सशक्त बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने योजना रहेको उनीहरूको भनाइ छ।
कार्यक्रममा सहभागी छात्रा विद्यार्थीहरूले पनि यस्तो अवसरले सामाजिक विषयमा आफ्नो बुझाइ विस्तार गर्न मद्दत पुगेको बताएका छन्। उनीहरूले सामाजिक समस्या पहिचान गर्ने, त्यसबारे खुला रूपमा छलफल गर्ने तथा आफ्ना विचार र सम्भावित समाधान प्रस्तुत गर्ने अवसर पाएको अनुभव सुनाएका छन्।
अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा आयोजना गरिएको यस कार्यक्रमले किशोरीहरूलाई सशक्त बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको आयोजक संस्थाले जनाएको छ। साथै विद्यार्थीहरूलाई सामाजिक जिम्मेवारीबोधका साथ सक्रिय नागरिकको रूपमा विकास गर्न कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस