२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

फलको आशा राख्नेले बोटको संरक्षण गर्न जरुरी छ


४९१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ माघ ४, बुधबार मा प्रकाशित १ साल अघि
  • पछिल्लो समयमा स्थानीय तहले गर्ने हरेक कार्यमा जताको चासो बढ्ने गरेको छ । विकास निर्माणको कार्य साथै स्थानीय तहको तफर्बाट जनताले पाउने सेवाको विषयमा सचेत हुनु स्वभाविकै हो । जनताहरुले निश्पक्ष ढंगको सेवा पाउने आशा राख्दै गर्दा जनप्रतिनिधिहरूले दलगत स्वार्थको भावले कार्य गर्नु दुर्भाग्य हो । निर्वाचनको समयमा कुनै दलको ट्यागबाट निर्वाचनमा होमिनु नौलो होइन तर निर्वाचित भए पश्चात जनप्रतिनिधिले दिने सेवामा ट्यागकै आधारमा अगाडि बढ्ने कार्यले जनताहरू आक्रोशित हुनु नौलो होइन ।

    स्थानीय तहमा स्थानीय जनताबाट तिरेको करबाट आर्जित आर्थिक (रकम) मा राजनीतिक आस्थाको आधारमा निर्णय गर्दै भर्ती केन्द्र बनाउन खोज्नु न्यायोचित रहन्न । स्थानीय तह सञ्चालन कार्यमा निष्पक्षता नगर्दा मनलाग्दी तरिकाले कार्य गर्नुले जनताहरू आक्रोशित हुँदै आएका छन् । मुलुकमा संघीयता लागू भएपछि सिंहदरवारको अधिकार गाउँगाउँमा आयो‚ जनताहरू दर्शित भए । नेपाली जनताको त्यो हर्षको क्षण बिस्तारै निराशामा परिणत हुदै छ । सिंहदरवारको अधिकार गाउँमा आँउदै गर्दा अधिकारको बागडोर सम्हाल्ने पक्षको व्यवहारले गर्दा जनता निराशा भएका हुन् ।

    कतिपय स्थानीय तहबाट गरिने कार्यहरू अस्तव्यस्त रहेका छन् । जनताले चाहेको समयमा जनप्रतिनिधि भेट्न समेत पाउँदैनन् । कर्मचारीलाई कानुनत सहज ढंगबाट कार्य गर्ने वातावरणमा समेत अवरोध पुर्याउने गरेको उदाहरणहरू छरपस्टै छन् । कर्मचारीले नीति सम्वत् कार्य गर्न खोज्दा दवाव दिने साथै अनर्गल हल्ला मच्चाएर आफ्नो वशमा राख्ने कोसिस गर्न समेत पछि पर्दैनन् जनप्रतिनिधि । स्थानीय तह एक प्रकारको भर्ती केन्द्रको रुपमा अगि बढ्दैछ‚ अनावश्यक कर्मचारी करारको नाउमा भर्ती गर्दै कार्यकर्ता पाल्ने थलो बन्दै छ । बजेटको दुरुपयोग गर्दै सामाजिक सुरक्षा भत्ता वितरणमा समेत राजनीति घुसेको छ ।

    स्थानीय तहमा शाखाहरूका जिम्मेवारी पाउने कार्यमा कानुन सम्वत् छैन । चाकडी चाप्लुसीकै आधारमा करारका कर्मचारीहरूले शाखाहरूमा हालिमुहाली गर्दैछन् । दक्षता नभएका अनावश्यक कर्मचारी थुपारेर स्थानीय तहले कार्य गर्दा सेवाग्राहीहरू सहज ढंगबाट सेवा पाउन सकेका छैनन् । विकास निर्माण कार्यमा जनताको चित्तबुझ्दो ढङ्गको कार्य छैन‚ गुणस्तर हीन कार्य हुन्दै छ । विकास निर्माण कार्यमा दीर्घकालिक ढङ्गको सोच छैन‚ तात्कालिक ढङ्गको कार्यमा बजेट खर्च गरिन्छ तर गुणस्तर हीन कार्य हुँदा समेत कसैको खासै चासो छैन । प्राविधिकहरूले निरीक्षण गर्ने साथै अनुगमन समितिले अनुगमन गरी पास भएका कार्यप्रति जनताको चासो बढेको छ ।

    स्थानीय तहका जनताहरूले पछिल्लो समयमा आएर जनप्रतिनिधिको सिफारिसमा भएको काय नियाली रहेका छन् । जनताको चाहना भनेको फलको आशा राख्नेले बोटको संरक्षण गर्न जरुरी रहन्छ भन्ने उद्देश्यका साथ स्थानीय तहलाई फल दिने वृक्षको रुपमा मनन गर्दै सो वृक्षको संरक्षण गर्ने अभियानमा जुटेका छन् । जनप्रतिनिधिले जनताको मन जित्ने ढङ्गको कार्य गर्न जरुरी रहन्छ । जसको लागि पदीय दम्भलाई त्याग्दै नीति नियम संगत कानुन आधारलाई अक्षरशः पालना गर्दै अगाडि बढ्न जरुरी रहन्छ । कार्यकर्ता भर्ती केन्द्रलाई निमिट्यान्न पार्दै सक्षम दक्षता हासिल गरेका व्यक्तिलाई जिम्मेवारी दिन जरुरी रहन्छ । स्थानीय तह सञ्चालन सम्बन्धी कानुनका आधारमा कर्मचारी व्यवस्था गरि अगाडि बढ्न जरुरी रहन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार