फागुन २१ गते सम्पन्न हुने निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र होइन, लोकतन्त्रप्रति जनताको विश्वासको पुनःपुष्टि पनि हो । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनु लोकतान्त्रिक प्रणालीको आधारभूत शर्त हो । यस सन्दर्भमा निर्वाचन आचारसंहिताको पूर्ण र इमान्दार पालना सबै पक्षको पहिलो दायित्व हो । आचारसंहिता कानुनी बाध्यता मात्र नभई राजनीतिक संस्कार, नैतिक अनुशासन र लोकतान्त्रिक परिपक्वताको सूचक हो ।
निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार, तिनका शुभेच्छुक तथा नेता–कार्यकर्ताले आचारसंहितालाई अक्षरशः पालना गर्नु अपरिहार्य छ । प्रतिस्पर्धा लोकतन्त्रको आत्मा हो, तर प्रतिस्पर्धा मर्यादित, सभ्य र कानुनी दायराभित्र हुनुपर्छ । आचारसंहिता उल्लंघन गर्दै गरिने उक्साहटपूर्ण अभिव्यक्ति, चरित्रहत्या, दुष्प्रचार, आक्रामक प्रदर्शन वा स्रोत–साधनको दुरुपयोगले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाउँछ । यस्ता गतिविधिले तत्कालीन राजनीतिक लाभ त दिलाउन सक्छन्, तर दीर्घकालमा लोकतान्त्रिक संस्थामाथिको विश्वास कमजोर बनाउँछन् । त्यसैले आचारसंहिताको पालना गर्नु नै जनताको मन जित्ने सबैभन्दा प्रभावकारी उपाय हो ।
मतदाताको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । सचेत, जिम्मेवार र विवेकी मतदाता लोकतन्त्रको मेरुदण्ड हुन् । मतदाताले प्रचार–प्रसारका नाममा फैलाइने भ्रम, अफवाह र गलत सूचनाबाट सचेत रहनुपर्छ । मतदान प्रक्रियाबारे स्पष्ट जानकारी राख्नु र आफ्नो मत सही तरिकाले अभिव्यक्त गर्नु नागरिक कर्तव्य हो । बदर मतको संख्या घटाउनु पनि निर्वाचनको गुणस्तर सुधार्ने महत्वपूर्ण पक्ष हो । यस सन्दर्भमा आम सञ्चार माध्यमको भूमिका विशेष महत्व राख्छ । तथ्यपरक, सन्तुलित र सत्य सूचना प्रवाह गर्नु सञ्चारको धर्म हो । निर्वाचन अवधिमा सञ्चारमाध्यमले मतदाता शिक्षा, आचारसंहिता सम्बन्धी जानकारी, मतदान प्रक्रिया र लोकतान्त्रिक मूल्यबारे जनचेतना फैलाउन सक्रिय भूमिका खेल्नुपर्छ ।
सनसनीखेज प्रस्तुति वा अपुष्ट समाचारले वातावरण बिगार्न सक्छ भने जिम्मेवार पत्रकारिताले शान्त, संयमित र सकारात्मक सन्देश प्रवाह गर्न सक्छ । बदर मत न्यूनीकरणदेखि निष्पक्ष प्रतिस्पर्धाको वातावरण निर्माणसम्म सञ्चार क्षेत्रको ‘कलमको निप’ तिखारिनु आवश्यक छ ।
निष्पक्ष निर्वाचन कुनै एक निकायको प्रयासबाट मात्र सम्भव हुँदैन । राजनीतिक दलको प्रतिबद्धता, मतदाताको सजगता, सञ्चारमाध्यमको जिम्मेवारी र निर्वाचन निकायको पारदर्शी कार्यशैलीबीचको समन्वय नै यसको आधार हो ।
आचारसंहिताको इमान्दार पालना गर्दै अघि बढ्दा मात्रै फागुन २१ को निर्वाचन लोकतन्त्रको उत्सवका रूपमा सफल र उदाहरणीय बन्न सक्छ । काभ्रेपलाञ्चोकमा सामान्य छिटपुट घटनाबाहेक आचारसंहिता उल्लंघनका गम्भीर घटना नभएको पाईएको छ । हालसम्म निर्वाचन आयोगमा तीन मौखिक र एक लिखित उजुरी दर्ता भएको भए पनि ती विषयमा आवश्यक छानबिन भइसकेको सम्बन्धित निकायले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्राप्त उजुरीहरू सामान्य प्रकृतिका रहेका छन् । ती उजुरीमा प्रचार–प्रसारको शैली, समयसीमा पालना तथा सार्वजनिक स्थल प्रयोगजस्ता विषय समेटिएका थिए । सम्बन्धित पक्षसँग सोधपुछ र छलफलपछि विषयको टुंगो लगाइएको जनाइएको छ । निर्वाचन अधिकारीहरूका अनुसार उल्लंघन भएका भनिएका घटनामा संलग्न पक्षले पुनः त्यस्ता गतिविधि नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसपछि हालसम्म थप कुनै गम्भीर प्रकृतिको उजुरी प्राप्त नभएको जानकारी दिइएको छ ।
जिल्लामा निर्वाचन आचारसंहिता कार्यान्वयनको अवस्था समग्रमा सन्तोषजनक रहेको बताइएको छ । राजनीतिक दल, उम्मेदवार र कार्यकर्ताले संयमित रूपमा प्रचार–प्रसार गरिरहेको तथा स्थानीय प्रशासन, सुरक्षा निकाय र अनुगमन संयन्त्र सक्रिय रहेको जनाइएको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित अनुगमनलाई निरन्तरता दिइएको छ । आचारसंहिताको पूर्ण पालना गर्दै लोकतान्त्रिक अभ्यासलाई मर्यादित बनाउने दायित्व सबै पक्षको भएको जिल्ला निर्वाचन कार्यालयले पुनः स्मरण गराएको छ ।
प्रतिक्रिया दिनुहोस