काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरवासीका लागि विभिन्न प्रकारको रोग लागि उपचार गराउंदै गर्दा रगतको अभाव भएको अवस्थामा नि:शुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
पाँचखाल नगरपालिका र नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखा बिच सम्झौता भई सो व्यवस्था गरिएको हो । दुई पक्षीय सम्झौता अनुसार पाँचखाल नगरपालिकाले अग्रिम तीन लाख जम्मा गरि नि:शुल्क रगत उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
सम्झौता अनुसार रेडक्रस सोसाईटीले नि: शुल्क उपलब्ध गराएको रगत प्रयोग गराएवापत पुन प्रति युनिट १०५० का दरले पाँचखाल नगरको तफर्वाट उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
नगरवासीलाई नि:शुल्क रगत उपलब्ध गराउने विषयमा पाँचखाल नगरप्रमुख महेश खरेलसँग सम्पर्क गर्दा उहाँले भन्नुभयो—कतिपय घटनामा समयमा रगत उपलब्ध नहुँदा ज्यानै जानेगरेको धेरै उदाहरणहरू रहेका छन् । सो उदाहरणलाई मध्य नजर गर्दै रगतको अभावमा पाँचखाल नगरवासीले कङ्कालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले अगाडि बढेका हौं ।
पाँचखाल नगरवासीलाई उपचारको क्रममा रगत आवश्यक भएमा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखामा सम्पर्क गरि नि:शुल्क रुपमा रगत लिने व्यवस्था मिलाएका छौ । नगरवासीले उपभोग गरेको रगतको भुक्तानी नगरपालिकाको तफर्वाट हुने व्यवस्था मिलाएका छौं । नगरवासीको जीउधनकै रक्षा गर्नु हाम्रो कर्तव्य हो ‚ सोही अनुसार हामी अगाडि बढेका छौँ । नगरप्रमुख खरेलले भन्नुभयो ।
नि:शुल्क रगत लिनको लागि पाँचखालको स्थाई बासिन्दा भएको कुनैपनि प्रमाण आवश्यक हुन्छ । नागरिकतामा अन्यत्रकै वतन रहेको अवस्थामा बसाइसराइ वा मतदाता परिचय पत्रको आधारमा रगत लिन सकिने व्यवस्था मिलाइएको छ ।
त्यसैगरी रगत लिन जाँदा पाँचखालको स्थाई बासिन्दा खुलेको प्रमाण नभएमा रेडक्रस काभ्रे शाखाले तोकेको रकम जम्मा गरि रगत लान सकिने र पछि प्रमाण पेस भएपछि जम्मा गरेको रकम फिर्ता गर्ने व्यवस्था मिलाएको छ ।
प्रतिक्रिया दिनुहोस